पोखरामा चौबिसै घण्टा व्यवसाय गर्नुस्, निषेध गरिन्नः एआइजी भण्डारी

Share:

रञ्जन अधिकारी पोखरा, २६ भदौ / प्रहरीले पोखरामा राति नौ बजेपछि बजार बन्द गराउँदै हिँड्ने गुनासो आईरहेका बेला प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले चौबिसै घण्टा व्यवसाय गर्न सकिने बताएका छन् । पश्चिमाञ्चल क्षेत्रका प्रहरी अधिकारीका बीच उनले पसल र सटरहरु बन्द गर्दै नहिँड्न निर्देशन पनि दिए । तर व्यवसायबाट अन्यलाई असर भने पुग्न नहुने उनले स्पष्ट पारे ।

हालै एआईजीमा बढुवा भएपछि पोखराका पत्रकारसँग विहिबार भेटघाट कार्यक्रम आयोजना गरेका भण्डारीले निषेध गरेर नहुने भन्दै आवश्यक सुरक्षा प्रदान गर्न आफ्नो सुरक्षाबललाई अनुरोध पनि गरेका हुन् । ‘आजैबाट मैले यस क्षेत्रका डिआइजी तथा एसपी साबलाई निर्देशन दिन्छु । भोलिबाट खुल्छ ।’ एआईजी भण्डारीले भने– ‘लेकसाइड मात्र होईन । नेपाल नै २४ घण्टा नै खुल्छ, कसैलाई निषेध र बन्द गराउने भन्ने कुरा हुन्न ।’ कार्यान्वयन हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा भण्डारीले थपे ‘कार्यान्वयन हुन्छ, म माथीबाटै पनि अनुगमन गर्छु । ध्वनी प्रदुषण तथा स्थानीयलाई असर पर्ने क्रियाकलाप भने निषेध गरिन्छ ।’

उनले पर्यटकीय क्षेत्रमात्र नभएर पुरै नेपाल नै सबै समयमा खोल्नु पर्नेमा जोड दिएका हुन् । भण्डारीले बजार नै बन्द गर्ने केन्द्रको नीति नभएको बताए । केही वर्षअघि पश्चिम प्रहरी कार्यालय पोखरामा डिआइजीको रुपमा रहेका भण्डारीले एआईजी भएको केही समयपछि पोखरामा आएर यस्तो निर्देशन दिएका हुन् ।

यसअघि, पुनरावेदन अदालत, पोखराले लेकसाईड राती २ बजेसम्म खोल्न निर्देशन दिएको थियो । एआइजी भण्डारीले सार्वजनिक सवारी सीट क्षमताभन्दा यात्रु चढाउनेलाइ कडा कारवाही गर्ने चेतावनी दिएका छन् । उनले देशका सबै क्षेत्रमा क्षमता भन्दा बढि यात्रु ओसार्नेलाई कारबाहीको लागि निर्देशन दिएको जानकारी दिए । भण्डारीले पोखराबाट छुट्ने तथा आउने सवारी साधनको उच्च निगरानी गर्दै नियम विपरित कार्य गर्नेलाई कडाईका साथ कारबाही गर्न मातहतका प्रहरीलाई निर्देशन दिएको समेत जनाए ।

यसैबीच, एआईजी भण्डारीले प्रहरी संगठनलाई आधुनिक र सभ्य संगठनको रुपमा विकास गरिने बताएका छन् । बदलिँदो समय अनुसार प्रहरी सेवालाई प्रविधियुक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रहरीमा स्रोत र साधनको अभावका कारणले जनताले चाहेअनुसारको सुरक्षा प्रदान गर्न नसकिएको स्वीकार गरे।

कमेन्ट गर्नुहोस्
Share: