
बागलुङ। चैतेदशैँको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।
गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा पूजापाठ गर्ने र मेला अवलकोन गर्नेको घुइँचो लागेको हो।
सो मन्दिरमा पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनले विभिन्न पशुपक्षीको बलि दिने चलन पनि छ।
मन्दिरमा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको भीड लागेपछि भक्तजनलाई कडा सुरक्षाका बीच लाइनमा राखेर पूजाआजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए।
मन्दिरमा नेपालका विभिन्न स्थानलगायत भारतबाट दर्शनार्थी आएका छन्। चैतेदशैँको आज मुख्य दिन भएका कारण हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आएका हुन्।
