
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक ‘मेरो सरकार’ भनेकोमा तीव्र आलोचना भइरहेका बेला उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताए। ‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’
मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।
मेरो सरकार भन्ने अभ्यास अरु देशहरुमा पनि हुने उनले बताए। भारतमै यस्तो प्रचलन रहेको भन्ने थाहा नपाउँदा अचम्म लागेको उनको भनाइ छ। ‘माइ गभर्मेन्ट भन्ने चलन छ,’ उनले भने।
प्रमुख प्रतिपक्ष दलका नेताहरूले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा मात्रै भएको आरोप लगाउँदै गर्दा प्रधानमन्त्री ओलीले विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी ठीक नभएको बताएका हुन्।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा कहाँ अस्पष्टता छ त्यो बताउँदा उचित हुन्छ,’प्रधानमन्त्री ओलीले भने,‘सरकारको कमजोरी नबताई समग्र कार्यक्रमका विषयमा आलोचना गर्नु ठीक होइन।’
विकास निर्माणका कार्यमा सरकारले द्रुततर काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भेरी बबई सुरुङ मार्ग त्यसको नमुना भएको दाबी गरे।
‘सरकारले विकास निर्माणका कार्यमा ढिला सुस्ती ग-यो भन्ने आरोप लगाउनेलाई म भेरी बबई सुरुङ मार्ग निर्माणमा भएको प्रगति हेर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीले भने। भेरी बबई सुरुङ मार्ग तोकिएको समयभन्दा एक वर्षअघि निर्माण सम्पन्न भएको हो।
