
रञ्जन अधिकारी पोखरा, ४ असोज / पोखरा १ बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी संघकी संचालक एवं जिल्ला सहकारी संघ, कास्की अध्यक्ष प्रभा काइरालाले सहकारीहरुको बर्गिकरण गर्नुपर्नेमा जोड दिइन् । उनले सबै सहकारी संस्थाहरुलाइ सरकारले समान कर लगाएको भन्दै सहकारीको बर्गिकरण गरेर मात्र करको दायरा तोक्न आग्रह गरिन् । ‘समान कर ब्यवस्थाले साना सहकारीहरु मारमा परेको छ ।’ उनले भनिन् – ‘दुःखले जम्मा गरेको पैसाबाट कर तिर्दा हामी मारमा परेका छौं । त्यसैले, सरकारले यसको बर्गिकरण पछि मात्र करको दायरा तोकुन् ।’
उनले सहकारीहरु पनि नाफामुखी नभएर सेवामुखी हुनुपर्नेमा जोड दिएकी छिन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका डेपुटी मेनेजर वृहस्पति अधिकारी, चौतारी बचत तथा ऋण सहकारीका अध्यक्ष चिनबहादुर विश्वकर्मा, हितैषी बचत तथा ऋण सहकारीका अध्यक्ष शेरबहादुर कार्की, शिक्षक यूनियन कास्कीका भूपू अध्यक्ष भिमप्रसाद सुवेदी, पास्कल एकेडेमीका प्रिन्सिपल अनिल दाहाल, संस्थाका संस्थापक अध्यक्ष प्रेमप्रसाद आचार्य लगायतले बोलेका थिए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष जगन्नाथ अधिकारी, सचिव एवं प्रबन्ध निर्देशक नारायणप्रसाद आचार्य, कोषाध्यक्ष ज्ञानेश्वर सुवेदी र लेखा समिति संयोजक बाबुराम बास्तोलाले आ–आÇना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा उत्कृष्ट बचतकर्ता बासुदेव तिमिल्सिना र सुमित्रा अधिकारी, असल ऋणी बसन्तकुमार आचार्य, ज्येष्ठ सदस्य वीरशोभा गुरुङ तथा प्रवेशिका परीक्षामा उत्तीर्ण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । उपाध्यक्ष निलकण्ठ आचार्यले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सचिव एवं प्रबन्ध निर्देशक नारायणप्रसाद आचार्यले गरेका थिए ।
