
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । “बालबालिका श्रममा होइन सपना हेर्न रमाउँछन्” भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धी पारित गरेको दिनको सम्झनामा जुन १२ तारिखमा विश्व बालश्रम विरुद्धको दिवस मनाउने गरिएको छ ।
नेपालमा सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रमको अन्त्य गर्ने लक्ष्य राखिएको छ । तर आईएलओको तथ्याङ्कअनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १६ लाखभन्दा बालश्रमिक छन् । तीमध्ये ६ लाखभन्दा बढी बालश्रमिक जोखिमयुक्त पेशा ब्यवसायमा आवद्ध रहेको पाइन्छ ।
होटल, पर्यटन, मनोरञ्जन क्षेत्र, घर, इँटाभट्टा, गलैँचा कारखाना, सवारी साधन, ग्यारेज, उद्योग लगायतका क्षेत्रमा बालश्रमिक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बालश्रम विरुद्वको ऐन तथा नियमावलीले बालश्रम गर्ने गराउनलेलाई कानुनी अपराधको रुपमा राखेको छ । तर पनि १४ वर्ष मुनिका धेरै बालबालिका श्रम गर्न अझै पनि बाध्य छन् ।
