
अनुप पौडेल, पोखरा। पोखरामा एकैदिन २४ सय थान लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । बुधबार सो संख्याको लागूऔषधसहित एक पुरुष र एक महिला पक्राउ परेका हुन् । बुधबार मध्यान्ह पोखराको उत्तमचोकबाट लागूऔषध कारोबारी पोखरा-१० बस्ने गोविन्द थापा (जोन) पक्राउ परेका थिए ।
उत्तमचोकको एक रेष्टुरेन्टमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरी निरीक्षक गणेश सुवेदीको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुगेको थियो । स्थानियबासीका अनुसार उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर उनीमाथि गोली चलाउनुपरेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका गोविन्द थापा
लागूऔषध कारोबारी जोनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ गोडामा गोली लागेको थियो । पक्राउ परेका थापा अहिले खतरा मुक्त छन् । थापासँगै भएका भनिएका अर्का एक जना फरार रहेका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । थापाको साथबाट ५०० थान डायजेपाम, ५०० थान नुर्फिन र ५०० थान फेनार्गन गरी १५ सय थान लागूऔषध बरामद गरिएको छ । थापाले प्रयोग गर्ने गरेको ग १३ प ८२२८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
पुरानै धन्दा
३० वर्षीय थापा पाँच वर्ष कतारमा पनि लागूऔषध मुद्दामा नै जेल जीवन बिताएर आएका ब्यक्ती हुन् । सन् २०१४ देखि सन् २०१८ सम्म लागूऔषध ओसारपसारको आरोपमा उनले कतारमा जेल जीवन बिताएका थिए । पछि नेपाल फर्किएपछी फेरी लागूऔषध कारोबारमा लागेका हुन् । कतारबाट फर्किएपछि पनि उनी फेरी त्यही काममा लागेको प्रहरीले सूचना पाएको थियो ।
महिला पनि पक्राउ
यस्तै गोली चलाएर थापा पक्राउ परेलगत्तै पोखराकै अमरसिंह चौर आसपासबाट अर्की महिला लागूऔषधसहित पक्राउ परेकी थिइन् । ३८ वर्षीय देवी कुमारी गुप्ताको साथबाट ९ सय थान लागूऔषध नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । उनको साथबाट ३०० थान डायजेपाम, ३०० थान नुर्फिन र ३०० थान फेनार्गन गरी ९ सय थान लागूऔषध बरामद गरिएको छ ।
उनका श्रीमान् उदय कुमार गुप्ता हाल लागूऔषध मुद्दामा कास्की कारागारमा छन् । कारागारबाट फोन गरेर लागूऔषध लिएर आउनेसँग सामान बुझी अन्यत्र पुर्याउन लगाएपछि उनि अमरसिंह चौर पुगेकी थिइन् । त्यही क्रममा उनी पक्राउ परेकी हुन्। दुवै घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

