
तनहुँ ।तनहुँ दमौलीस्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको १०८ फिटको वेदव्यासको मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ । व्यासको मूर्तिसहित अन्य संरचनाको गुरुयोजना बनाउने जिम्मा पाएको अर्थक्वेक सेफ्टी सोलुसन्सले मंगलबार दमौलीमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले १०८ फिटको व्यासमूर्तिसहित सबै संरचना निर्माणका लागि ६२ करोड ८५ लाख पाँच हजार २११ रुपैयाँ बजेट अनुमान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ रुपैयाँ लाग्ने अनुमान छ ।
निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै सात करोड रुपैयाँ खर्च हुने अनुमान छ । व्यासको मूर्ति अडयाउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको महर्जनले जानकारी दिनुभयो । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय र पुस्तकालय हल प्रस्ताव गरिएको छ।
गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।
गुरुयोजनामा १०८ फिटको अग्लो व्यासको मूर्तिलाई पश्चिम फर्काइएको छ । महर्जनले भन्नुभयो, “धार्मिक परम्परा अनुसार पूर्वमा बसेर पश्चिम फर्केर पूजा गर्ने विश्वास छ । त्यही भएर हामीले व्यासको मूर्तिलाई पश्चिम फर्काएर राख्ने गरी गुरुयोजनामा समावेश गरेका छौँ ।” व्यासको मूर्तिको खुट्टासम्म पुगेर र्सवसाधारणले फोटो खिच्न सक्नेछन् । त्यहाँ पुग्नका लागि भर्याङको व्यवस्था गरिनेछ ।
व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले व्यासको मूर्तिको स्वरुपबारे प्रश्न उठेकाले विद्वत भेला राखेर अन्तिमरुप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अग्ला-अग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफल गरेर व्यासको मूर्तिसहितका संरचना निर्माणका लागि डिपिआर तयार गरिएको छ ।
व्यासमूर्तिको स्वरुपबारे भने एकपटक पुनः छलफल गर्र्छौं ।” व्यासको १०८ फिटको मूर्ति तनहुँको प्रतिष्ठाको रूपमा रहने भएकाले यसलाई सम्पन्न गर्न सबै तनहुँवासीको साथ र सहयोग आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यासमूर्ति निर्माणका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भएकाले सबैको मन जित्ने गरी निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले मूर्ति निर्माणका लागि जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग बजेट माग गर्न सकिने बताउनुभयो ।
