आईफा अवार्डबारे नेता नेपालको टिप्पणी : नेपालीले दुःख पाउने, विदेशी रमाउने राम्रो होइन

550
0
Share:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पूर्वाधार बिनाका योजना घोषणा, मनपरी नियुक्ति तथा अवकास लगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढेको उनले बताए ।

पूर्वसांसद मञ्च नेपालको १९ औं साधारणसभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले न्युनतम पूर्वाधारविना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जना भएको टिप्पणी गरे ।

नेतृत्वले विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने उनले बताए । नेता नेपालले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ ।’

नेता नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरे । नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको आफूले पाएको उनले बताए । पर्यटन प्रवर्द्धन गर्न ध्यान पुर्‍याउन पर्ने तर, आफ्नो देशको साधन स्रोतलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्ने उनले बताए ।

नेकपा नेता नेपालले भने, ‘राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरु फस्टाउने, नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु लहलहाउने स्थिति हुनुहुन्न ।’ उनले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: