पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

Share:

काठमाडौ, आश्विन १३ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुरुप समायोजन गर्दा पेट्रोल, डीजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । सरकारले सोमबार रातिदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन गर्न स्वचालित मूल्य प्रणाली लागू गरेको हो।

nepal-oil-corporation-

पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा र डीजेल तथा मट्टीतेलमा २७ पैसा घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । घटेपछि पेट्रोल १ सय ३३ रुपैयाँ १० पैसा र डिजेल र मट्टितेलको मूल्य समान १ सय ५ रुपैयाँ ५० पैसा कायम भएको छ । यसअघि पेट्रोलको मूल्य १ सय ३४ रुपैयाँ ५० पैसा र डीजेल तथा मट्टीतेलको मूल्य समान १ सय ५ रुपैयाँ ५० पैसा थियो ।

अब निगमले स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसनले पठाउने मूल्यको आधारमा महिनाको २ पटक मूल्य हेरफेर गर्ने भएको छ । सहज रुपमा पेट्रोलियम पदार्थ आयात गर्न र घाटा कम गर्न स्वचालित मूल्य प्रणाली अपनाइएको निगमका प्रबक्ता घिमिरेले जानकारी दिए । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वस्तुको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नै हुनु पर्ने भन्दै सरकारले यो प्रणाली सुरु गरेको वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले बताए। ‘मैले ठूलो चुनौती लिएर यो प्रणाली लागू गरेको छु,’ उनले भने, ‘यसले विस्तारै निगममा हुने घाटालाई घटाउँदै लैजाने छ।’ उनका अनुसार अब महिनाको दुईपटक पेट्रोल, डिजेल र मट्टीतेलको बिक्री मूल्य खरिद मूल्य अनुसार समायोजन हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: