एजेन्सी । सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरसको एसिया छनौटमा आज नेपालले घरेलु टोली सिंगापुरको सामना गर्दै छ । सिंगापुरको इन्डियन एसोसियसन ग्राउण्डमा नेपाली समयानुसार सवा ७ बजे खेल सुरू हुने छ ।
नेपाललाई आज जित्नै पर्ने दबाब रहेको छ । आज खेल बराबरी भएमा वा खेल नभएको खण्डमा पनि नेपालको विश्वकप सपना टुट्ने छ ।
तर आज सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।
सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यस प्रतियोगिताको एकमात्र दाबेदार मानिएको नेपाल पहिलो खेलमै पराजित भएपछी यस्तो कठिन मोडमा आएको हो ।
कतारसंग पराजित भएपछी नेपाली टोली लय समाउन सफल भएको छ । कुनै समय बलिङ्गमा मात्र भर पर्ने नेपाली टोली अहिले ब्याटिङ्गमा पनी उत्तिकै मजबुत देखिन्छ ।
नेपाली समर्थकको नजर आज कप्तान पारस खड्का माथि हुने छ । कप्तान खड्का अहिले आफ्नो करियरकै उच्च लयमा रहेका छन् । यस्तै नेपाली समर्थकको नजर स्पिनरद्वय सन्दिप लामिछाने र बसन्त रेग्मी माथि पनि हुने छ ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।
