
रेम बिक
पोखरा, २२ साउन । एक्सेस एजुकेशन नेटवर्कले पोखरामा ७ वर्षयता वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । आइएसओ सर्टिफाइड यो कम्पनी ‘एजुकेशन न्यूजिल्याण्ड’को नेपालस्थित एजेन्सी पनि हो । काठमाण्डौ, पोखरासहित नेपालभर ७ वटा शाखाबाट कम्पनीले विद्यार्थीहरुलाई सेवा दिँदै आएको छ । अष्ट्रेलिया, यूके, क्यानडा जस्ता मुलुकमा जान चाहने विद्यार्थीहरुलाई कम्पनीले परामर्श दिँदै आएको छ ।
यद्यपि न्यूजिल्याण्डका लागि यो कम्पनी विद्यार्थीहरुको बढि रोजाईमा पर्ने गरेको छ । कम्पनीले साउन २६ गते पोखरामा ‘न्यूजिल्याण्ड एड्मिसन सेसन’ गर्ने भएको छ । पोखरा सिद्धार्थचोकस्थित आफ्नै कार्यालयमा यो ‘एड्मिसन सेसन’ चल्नेछ । अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर गर्न लागेको यो विशेष इभेन्टमा आएर विद्यार्थीहरुले बढि भन्दा बढि जानकारी लिन सक्ने कम्पनीको दाबी छ । यो इभेन्टमा न्यूजिल्याण्डका १० वटा कलेजका प्रतिनीधिहरुले विद्यार्थीहरुलाई काउन्सिलिङ गर्नुका साथै सम्बन्धित कलेजको कोर्ष र अध्ययन शुल्कको बारेमा जानकारी दिनेछन् ।
‘न्यूजिल्याण्ड एडमिसन सेसन’को छेको पारेर हामीले वैदेशिक अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थी र उनीहरुको अभिभावकको मनमा लाग्ने केही जिज्ञासाहरुलाई मेटाउन खोजेका छौँ । एक्सेस एजुकेशन पोखराका निर्देशक बिजय अधिकारीसँग गरिएको कुराकानी :
अध्ययनका लागि न्यूजिल्याण्ड किन जाने ?
नेपाल र न्यूजिल्याण्डको सम्बन्ध निकै पुरानो हो । सगरमाथाको पहिलो आरोही एडमण्ड हिलारी न्यूजिल्याण्डकै नागरिक थिए । र, त्यही कारणले पनि नेपाली नागरिकलाई न्यूजिल्याण्डमा विशेष रुपमा हेरिन्छ । यो भयो दुई देशबीचको सम्बन्धको कुरा ।
र, विद्यार्थी न्यूजिल्याण्ड किन जाने ? भन्ने सवालमा हाम्रो धारणा केही फरक छ । न्यूजिल्याण्डमा जानका लागि विद्यार्थीको ‘आइईएलटिएस स्कोर’ र एकेडेमीक नतिजा ठिकठाकै भएपनि हुन्छ । अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका जस्ता मुलुकमा अत्याधिक राम्रो स्कोर भएपनि विद्यार्थीहरुका लागि निकै कडाई गरिएको हुन्छ । सोही देशअनुसारकै कोर्षमा न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुका लागि कम स्कोर भएपनि त्यहाँका कलेज तथा युनिभर्सिटीहरुले स्वागत गर्छन् । ‘एकेडेमीक भ्यालु’ र अध्यापनको ‘नेचर’को हिसाब गर्ने हो भने माथि उल्लेखित कुनै पनि देशको तुलनामा न्यूजिल्याण्ड कम छैन ।
त्यही लेभलका कोर्षहरु सहज र सरल तरिकाले अन्य मुलुकको तुलनामा न्यूजिल्याण्डमा पढ्न पाईन्छ भने विद्यार्थीले न्यूजिल्याण्ड किन नरोज्ने त ? विद्यार्थीले अध्ययन सँगै साप्ताहिक रुपमा २० घण्टा पार्ट टाइम जागिर गर्न पाउने व्यवस्था छ । जसबाट विद्यार्थीहरुले आफ्नो पढाई खर्च पु¥याउन सक्छन् । १ वा २ वर्षसम्मको कोर्षहरु पढ्नका लागि विद्यार्थी त्यहाँ जान्छन् । पढाई सकिएपछि ३ वर्षसम्मको ‘पोस्ट स्टडी राइट्स’विद्यार्थीले पाउँछन् । यो समय भनेको पुरापुर काम गर्न पाईने समय हो । र, यसरी काम गर्दा विद्यार्थीको आर्थिक अवस्था पनि राम्रो हुने गरेको हाम्रो अनुभव छ । त्यसैमाथि त्यहाँको हावापानी पनि नेपाली विद्यार्थी सुहाउँदो रहेकोले हामीले विद्यार्थीलाई न्यूजिल्याण्ड नै वैदेशिक अध्ययनका लागि सही विकल्प हो भन्ने गरेका छौँ ।
नेपाली विद्यार्थीहरुका लागि न्यूजिल्याण्डमा कस्ता कलेज तथा युनिभर्सिटीहरु उपलब्ध छन ?
हामीले त्यहाँको सरकारबाट संचालित कलेजहरुलाई प्रोमोट गर्छौँ । सरकारबाट संचालित कलेज तथा युनिभर्सिटीहरुमा विद्यार्थीहरुका लागि केही प्रतिशत छुट, छात्रवृत्ति पाउनुका साथै आइईएलटिएस स्कोर कम भएका विद्यार्थीहरुलाई भाषा कक्षाहरु दिने सुविधा पनि हुन्छ । त्यो बाहेक विद्यार्थीहरुले इन्टर्नसिपको समयमा पनि पैसा पाउने व्यवस्था हुन्छ । जसले गर्दा यहाँबाट अध्ययनका लागि जाने विद्यार्थीहरुलाई धेरै भन्दा धेरै सहज हुन्छ । त्यो बाहेक हामीले ‘न्यूजिल्याण्ड क्वालिफिकेशन अथोरिटी’ बाट पहिलो वा दोस्रो तहको मान्यता पाएको कलेजहरुलाई समेत प्रचार गर्ने गरेका छौँ । जो अन्तराष्ट्रियस्तरमा मान्यता प्राप्त डिग्री विद्यार्थीलाई दिन सक्छन् ।
न्यूजिल्याण्डका कलेज र युनिभर्सिटीहरुमा विद्यार्थीहरुका लागि कस्ता कोर्षहरु हुन्छन् ?
करिअर मेकिङका लागि विद्यार्थीहरुलाई सकेसम्म प्राविधिक शिक्षा पढ्न हामी सुझाउँछौँ । र, प्राविधिक शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड उत्कृष्ट डेस्टिनेशन पनि हो । नर्सिङ, इन्जिनियरिङ, एग्रिकल्चर, कुकरी, बेकरी, हस्पिटालिटी, वाइन साइन्स, फिसरी म्यानेजमेन्ट, फरेस्ट्री जस्ता जीवनोपयोगी कोर्षहरु न्यूजिल्याण्डका कलेज तथा युनिभर्सिटीहरुमा पढाईन्छ ।
यस्ता कोर्षहरु पढिसकेपछि विद्यार्थीहरुले नेपालमै आएर पनि स्वरोजगार बन्न सक्छन् भने रोजगारीको लागि जुनसुकै मुलुकमा पनि उनीहरुको शैक्षिक योग्यता पुग्छ । अन्तराष्ट्रियस्तरमा मान्यताप्राप्त कलेज तथा युनिभर्सिटीबाट पाउने शैक्षिक योग्यताले विद्यार्थीहरुलाई अझै बढि आँट पनि दिन्छ ।
न्यूजिल्याण्डका शैक्षिक इन्टेकहरु कुन कुन बेला खुल्छन् ?
सामान्यतया फेब्रुअरी, जुलाई र नोभेम्बर इन्टेकमा कलेजहरुले भर्ना आह्वान गर्छन् । न्यूजिल्याण्डका प्राय कलेज तथा युनिभर्सिटीहरुको मूख्य इन्टेकहरु यीनै हुन् । यद्यपि कतिपय कोर्ष र कलेज हेरेर हरेक महिना जस्तो पनि इन्टेकहरु पर्छन् । त्यसैले जुनसुकै समयमा पनि न्यूजिल्याण्डका लागि विद्यार्थीहरुले अप्लाई गर्न सक्छन् ।
विद्यार्थीहरु न्यूजिल्याण्ड जान कस्ता कागजातहरु आवश्यक पर्छ ?
सबैभन्दा पहिला त विद्यार्थी कुन तहमा अध्ययनका लागि न्यूजिल्याण्ड जाँदैछ भन्ने कुराले पनि अर्थ राख्छ । यद्यपि कम्तीमा प्लस टु वा पिसिएल लेभल पास गरिसकेपछि मात्रै अध्ययनका लागि विद्यार्थीले न्यूजिल्याण्ड अप्लाइ गर्न पाउँछन् । प्लस टु पछि कम्तीमा ३ वर्षको ग्याप एसेप्ट हुन्छ । यद्यपि कतिपय सवालमा उचित कारण देखाउन सके त्यो भन्दा बढि ग्याप भएका विद्यार्थीहरुले पनि न्यूजिल्याण्ड अप्लाइ गर्न पाउँछन् । विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु, नागरिकता, पासपोर्ट र अन्य वित्तिय कागजात पनि उपलब्ध गराउनुपर्छ । त्यसपछि मात्रै उनीहरुलाई कलेजले अफर गर्छ ।
विद्यार्थीहरुले अध्ययनका लागि आवश्यक वित्तिय कागजातहरु कसरी बनाउन सक्छन् ?
न्यूजिल्याण्ड जानका लागि वित्तिय कागजात केवल यहाँका दुईवटा बैंकहरुले मात्र उपलब्ध गराउन सक्छन् । नबिल बैंक र एसबिआई बैंकबाट बनेका वित्तिय कागजात मात्रै न्यूजिल्याण्डका लागि मान्य हुन्छन् । विद्यार्थीहरुले अध्ययन गर्न जाने कोर्ष र कलेज हेरेर यहाँको बैंकमा रकम जम्मा गर्नुपर्ने हुन्छ, त्यो रकम २८ देखि ५५ लाख रुपैयाँसम्म हुन्छ । यो रकम विद्यार्थीले कोर्ष पढ्न र बस्न खान लाग्ने खर्चको ग्यारेन्टी हो । कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट आवश्यक हुन्छ ।
नगद नभएको खण्डमा विद्यार्थीहरुका लागि शैक्षिक कर्जाको पनि व्यवस्था बैंकले गरेको हुन्छ । न्यूजिल्याण्डमा अध्ययन गर्दा विद्यार्थीहरुले कलेज अथवा कोर्षको प्रकृति हेरेर १५ हजार देखि २२ हजार न्यूजिल्याण्ड डलरसम्म शुल्क तिर्नुपर्ने हुन्छ ।
विद्यार्थीहरुले अध्ययनसँगै काम गर्न पाउने सुविधा, पी.आर.को सुविधा र विवाहितको हकमा डिपेन्डेन्ट लैजान पाउने व्यवस्था कस्तो छ ?
विद्यार्थीहरुले साप्ताहिक २० घण्टा काम गर्न पाउने कानुनी व्यवस्था छ । र, यसरी काम गर्दा विद्यार्थीहरुले प्रतिघण्टा न्युनतम १८ न्यूजिल्याण्ड डलरसम्म कमाई गर्न सक्छन् । अब डिपेन्डेन्टको सवालमा विद्यार्थीले अप्लाई गर्न भन्दा अगाडि नै आफू विवाहित भएको खुलाउनुपर्ने हुन्छ । र, विद्यार्थीको भिसा लागिसकेपछि ‘स्पाउस भिसा’का लागि आवेदन दिन पाउँछ । यो विद्यार्थीको भिसा लागिसकेको २ महिनापछि गर्नुपर्छ । त्यसपछि न्यूजिल्याण्डको इमिग्रेशनको पोलिसी अनुसार भिसा एप्रुभ हुन्छ । यसो गर्दा करिब ३ महिनासम्म लाग्न सक्छ ।
अब रह्यो पी. आर.को कुरा । दक्ष जनशक्ति मानिने विभिन्न कोर्ष र सोही अनुसारको काम गरेको खण्डमा विद्यार्थीले पी.आर. पाउने चान्स बढि हुन्छ । क्याटेगोरी अनुसार सिभिल इन्जिनियरिङ, नर्सिङ, कुकरी, बेकरी, एग्रिकल्चर जस्ता क्षेत्रमा शैक्षिक र कामको हिसाबले दक्ष भैसकेपछि पी.आर. पाउन विद्यार्थीलाई बढि सहज हुन्छ ।
फोटो सौजन्य : जक्शन डटकम


