
पोखरा । कास्की प्रहरीले सुनको जस्तो देखिने बुद्धको मूर्ति देखाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । सुनको भनेर अन्य धातुबाट बनेको बुद्धको मूर्ति बेच्ने दोलखा घर भई काठमाडौं बस्ने ५२ वर्षीय राजाराम शिवाकोटी, गोरखा घर भई पोखरा-८ न्यूरोड बस्ने ३३ वर्षीय देव कुमार श्रेष्ठ र रामेछाप घर भई काठमाडौं बस्ने ३६ वर्षीय वसन्त बाबु श्रेष्ठलाई पक्राउ गरिएको हो ।
उनीहरुले पोखराका विभिन्न स्थानमा सुनबाट बनेको जस्तो देखिने बुद्धको मूर्ति ग्राहकलाई बेच्ने गरेको पाइएको आइतबार आयोजित पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पोखरा-८ बस्ने पाराश्वर विश्वकर्मालाई १३ लाख रुपैयाँमा मूर्ति बेचेर उनीहरु फरार भएका थिए ।
यो घटना गत साउन १९ गतेको हो । सो मूर्ति किनेका विश्वकर्माले सुनबाट नभई अन्य धातुबाट बनेको थाहा पाएपछि प्रहरीकोमा पुगेका थिए । जानकारी पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले उनीहरुलाई खोजी गर्ने क्रममा पोखराबाटै समातेको हो ।
उनीहरुलाई पोखरा-६ डिहीकोपाटनबाट गएको साउन २७ गते नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शिवाकोटीले बोकेको झोला खानतलास गरेको थियो । सोही क्रममा झोला भित्र सुनको जस्तो देखिने पहेलो धातुको बुद्धको मूर्ति भेटिएको हो ।
उनीहरुको साथबाट सुनको जस्तो देखिने पहेलो धातुको ६.१ केजीको बुद्धको मूर्ति, धातु छेड्न प्रयोग गरिने ड्रिल मेसिन, कागजमा लुकाएर राखेको सुनको जस्तो देखिने पहेलो धुलो बरामद गरिएको छ । यस्तै उनीहरुको साथबाट २ थान क्यासिनो कार्ड, भारतीय राजदुतावास काठमाडौं लेखिएको कार्ड, भारतीय निर्वाचन आयोगको कार्ड १\ १ वटा र विभिन्न बैंकका चेक पनि भेटिएको छ ।
उनीहरुले सुनको भएको विश्वास दिलाएर झुक्याई बिक्रि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘उनीहरु पहिलेबाट नै यसमा संलग्न रहेको पाइयो,’ एसपी कार्कीले भने, ‘उजुरी आएपछि खोजी गर्दै जाँदा पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार तीनै जनाको क्यासिनो जाने बानी थियो । ठगी गरेको पैसा उनीहरुले क्यासिनोमा नै सक्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

