पोखरामा डेंगु संक्रमितको संख्या एक सय नाघ्यो, ‘सर्च एण्ड डेष्ट्रोए’ अभियान जारी

Share:

पोखरा । पोखरामा १ सय १ जनामा डेंगुको संक्रमण देखिएको छ । साउन १५ गते पोखरा–८, शिवालय चोकका एक पुरुषमा पहिलोपटक डेंगु संक्रमण देखिएको थियो । त्यसपछि अहिले यसबाट संक्रमित हुनेको संख्या दैनिक बढ्दै गएको छ ।

आइतबारसम्म डेंग संक्रमितको सङ्ख्या एक सय नाघेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका सूचना अधिकारी डा. भोजराज गौतमले पुष्टी गरे । ‘संक्रमितको संख्या दैनिक बढ्दै गएको छ, अस्पतालमा पुग्ने पनि बढेका छन्,’ उनले भने, ‘अहिलेसम्म १ सय १ जनामा देखियो ।’

पोखराको वडा नम्बर १, ४, ५, ६, ८, ९, १०, १७, २५ लगायतका वडामा डेंगुका बिरामी भेटिएका हुन् । यीमध्ये सबैभन्दा बढी बिरामी वडा नं ८ र ९ का छन् । गतवर्ष पनि सुरुमा यी दुई वटा वडामा डेंगुको संक्रमण फैलिएको थियो ।

करिब ५० प्रतिशत बिरामी यी दुई वटा वडाको रहेको उनले बताए । एकपटक संक्रमण भए पुरानै अवस्थामा फर्किन ८ देखि १० दिन लाग्ने गौतमले बताए । उनले भने, ‘यसबाट संक्रमित भए पुरानै अवस्थामा फर्किन ८ देखि १० दिन लाग्छ, कसैमा धेरै दिन रहन सक्छ ।’

विभिन्न संघसंस्थाको पहलमा जनचेतनामूलक कार्यक्रम भइरहेका छन् । संक्रमण देखिएका वडामध्ये वडा नं ८ र ९ मा अहिले खोज्ने र नष्ट गर्ने (सर्च एण्ड डेष्ट्रोए) अभियान जारी छ । डा. गौतमका अनुसार संक्रमितहरुको पोखराका विभिन्न अस्पतालमा उच्च निगरानीका साथ उपचार भइरहेको छ ।

‘डेंगु फैलिनुको मुख्य कारण तापक्रम’

गएको वर्ष कार्तिक महिनामा पोखरामा डेंगु देखिएको थियो । तर, अहिले साउनमा नै देखियो । पोखरामा डेंगु फैलिनुको मुख्य कारण यहाँको तापक्रम हो । अहिले पोखराको तापक्रम २० देखि ३० डिग्री सेल्सियसम्मको छ ।

‘पोखरामा डेंगु फैलिनुको मुख्य कारण यहाँको तापक्रम हो,’ डा. गौतम भन्छन्, ‘२० देखि ३० डिग्री तापक्रममा लामखुट्टेले फुल पार्छ, अहिले पोखराको तापक्रम पनि यस्तै छ ।’

तापक्रमसँगै समुदायका मानिसमा डेंगु बारे चेतना पनि कम भएको डा.गौतम बताउँछन् । भाँडामा जम्मा गरिएको पानी धेरै दिनसम्म राख्दा पनि यसको संक्रमण फैलिने खतरा धेरै हुन्छ । त्यसैले भाँडामा जम्मा गरिएको पानी एक हप्ता भन्दा बढी राख्नु हँदैन ।

डेंगुबाट बच्ने उपाय

यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । सोही जातको लामखुट्टेको टोकाइबाट बच्न सके यो रोगबाट पनि बच्न सकिन्छ । डेंगुका विषयमा सुरुमा आफैं सचेत हुनुपर्ने डा. गौतम बताउँछन् ।

पानी जम्माका गरिएका भाँडा घोप्टयाएर राख्न, घरवरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्न उनको सुझाव रहेको छ । डेंगु लागेपछि उच्च ज्वरो आउने, जोर्नी तथा हाडहरु दुख्ने, वान्ता हुने, खाना खान मन नलाग्ने र शरीरका विभन्न अंगबाट रगत बग्नेलगायतका लक्षण देखिने गर्दछ ।

यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने भएकाले आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । ‘यो लामखुट्टेले दिउँसो समयमा टोक्छ,’ गौतमले भने, ‘त्यसैले घर वरपरको वातावरणसँगै आफूले लगाउने कपडामा पनि विशेष ध्यान दिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
Share: