भोलिदेखि पर्वत–बेनी–मुस्ताङ सडकखण्ड दैनिक आठ घण्टा बन्द, वैकल्पिकमार्ग प्रयोग गर्न आग्रह

Share:

बागलुङ – बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण गर्न दैनिक साढे आठ घण्टा पर्वत–बेनी–मुस्ताङ सडकखण्ड बन्द गरिने भएको हो ।

भिरमा सहायक जग (फाउण्डेशन) निर्माण गर्दा निस्कने चट्टान तथा माटो सोझै सडकखण्डमा खस्ने भएका कारण सम्भावित दुर्घटनाप्रति सजगताका लागिसडक बन्द गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । नौ दिनसम्मका लागि उक्त सडकखण्ड साढे आठ घण्टा बन्द गरिने भएको हो ।

बिहिबारदेखि १३ गतेसम्म बिहान ७ः०० देखि ९ः०० बजे र त्यसपश्चात बिहान १०:०० देखि अपराह्न साढे ४:०० बजेसम्म कुश्मा–१ मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको डमुवाखोलासम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणकार्यलाई तीव्रता दिन लागिएको नगर प्रमुख जनक राज पौडेलले जानकारी दिए ।

सडक बन्द हुँदा म्याग्दी र मुस्ताङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन उक्त समयमा छुट्न सक्ने छैनन् । यस क्रममा पर्वतको मालढुङ्गा, जलजला हुँदै बेनी, म्याग्दी, मुस्ताङ आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ बजार हुँदै म्याग्दीको रत्नेचौरदेखि बेनी जाने वैकल्पिकमार्ग प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिए ।

नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल ५६७ मिटरको हुनेछ भने १३८ मिटर उचाइको हुनेछ । उक्त पुल रु छ करोड ९१ लाखको लागतमा ब्रिज सस्पेन्सन डिभिजन कार्यालय काठमाडौँले निर्माण गर्न ठेक्कामार्फत हिमशिखर कन्ट्रक्सनलाई जिम्मा दिएको हो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: