‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु’

Share:

काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जाने भएपछि विरोधीहरूले ‘मरिहालोस्’ भनेर कामना गर्न थालेको गुनासो गरेका छन् । संविधान दिवस/राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु।’

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाउनेलाई अर्को चुनावसम्म आफ्नो सामना गर्न तयार भएर बस्न चेतावनी दिए । ‘अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन, मरिहालेदेखि हुन्थ्यो भन्छन्’, उनले भने, ‘मलाई यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनावको सामना गर्नका लागि तयार भएर बस्न आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले आफू हल्का उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिए । उनले आफू सिंगापुरबाट फर्किएर भव्यता र व्यापक तयारीसहित मनाउनेगरी संविधान दिवसको तयारी थाल्न पनि आग्रह गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवस अरु दिवसभन्दा महत्वपूर्ण भएकाले भव्यता र व्यापकताका साथ मनाउनुपर्ने धारणा राखे। उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्
Share: