
म्याग्दी । म्याग्दीमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना भएको छ । जिल्लाको उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा जिप दुर्घटना भएको हो । बरखर्कबाट जिप करिब ३ सय मिटर तल खसेको थियो ।
रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक र तीन इन्जिनियर घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सिभिल इन्जीनियर विसन घिसिङ र शैलेस शाक्यको बेनी अस्पतालमै उपचार भइरहेको छ । उनीहरुलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेको छ ।
