
काठमाडौं । स्वस्थ्य उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) स्वदेश फर्कंदै छन्। प्रधाननमन्त्री ओलीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएपछि स्वदेश फर्किन लागेका हुन्।
उनी अपरान्ह करिब २ बजे त्रिभुवन विमानस्थलमा ओर्लने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रीहरूलाई सूचना पठाएर शुक्रबार विमानस्थलमा उपस्थित हुन भनेको छ।
मन्त्रीहरुलाई अपरान्ह एक बजेर ४५ मिनेटमा उपस्थित हुन सुचित गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्रधानमन्त्रीको स्वागतका लागि सरकारका मन्त्रीहरु, मुख्यसचिव लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुग्नेछन्।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किंदैछन्। प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।
१२ वर्षअघि मिर्गोलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली यही भदै ५ गते उपचारका लागि दोस्रो पटक सिंगापुर गएका थिए।
