
काठमाण्डौ। राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्कीपछि धनुषामा पनि प्रवेशमा रोक लगाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघले शाहीलाई प्रतिबन्ध लगाएको हो।
धनुषाको युवा संघले भदौ २८ गते नेपालगञ्ज एयरपोर्टमा पर्यटन मन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहारको प्रयास गरेकोमा आपत्ति जनाएको छ। जनतालाई भड्काउने र कुनै प्रकारको प्रचारबाची गरे संघले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
यसअघि कास्कीको राष्ट्रिय युवा संघले आइतबार विज्ञप्ति जारी गर्दै ‘गलत अभियान’मा लागेको भन्दै शाहीलाई कास्की जिल्लामा प्रवेश गर्न नदिने घोषणा गरेको थियो।
नेपालको संविधानले कुनै पनि नागरिकलाई नेपालको कुनै पनि ठाउँमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता दिएको छ। तर सत्तारूढ दलको भातृ संस्थाले भने संविधानको उक्त व्यवस्थाविपरीत शाहीलाई कास्की प्रवेश गर्न नदिने बताएको हो।

