
म्याग्दी । म्याग्दीको बेनीमा बाढीले घर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार राति स्थानीय कोटखोलामा आएको बाढीले बेनी नगरपालिका–२ बगरफाँटका पाँच घर बगाएको छ।
बाढीले घर बगाउँदा ६ र १० वर्षका दुई बालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले जानकारी दिए।
बेपत्ता हुनेमा प्रविना परियार र अनिस्का परियार छन्। मध्यराति बाढी आउँदा स्थानीयको भागाभाग भएको थियो।
बाढीले पाँच घरमा सामान्य क्षति पुगेको छ। एक्कासी उर्लिएर आएको बाढीबाट बच्न भागाभाग गर्ने क्रममा दुई बालिका बेपत्ता भएका स्थानीयले बताएका छन् ।
बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीमा पनि क्षति पुर्याएको विद्यालयका प्रबन्ध निर्देशक राजकुमार थापाले जानकारी दिए।
बाढीमा बेपत्ता दुई बालिकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। रातको समयमा भएको भीषण बर्षापछि आएको बाढीले खोलाले धार परिवर्तन गर्दा क्षति भएको प्रहरीले जनाएको छ।
