दशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

326
0
Share:

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

विजयादशमीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताएकी छिन् ।

“हाम्रो मुलुकमा परम्परागत रुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका विभिन्न चाडपर्वहरूले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्नका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेका छन्,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको शुभकामना

नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हाम्रो संविधानले सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको स्मरण गराएका छन् ।

सबै चाडपर्वले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आईरहेका छन् भन्दै उपराष्ट्रपतिले सन्देशमा विजयादशमीकोे माध्यामबाट त्यो अक्षुण्ण रहने र अझ उन्नत हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको केपी शर्मा ओलीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन् ।

धानमन्त्री ओलीले नेपाल राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन् ।

उनले भनेका छन्,‘‘यस यात्रामा हामीले समृद्धि सँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकासपनि गर्नुछ ।यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ ।”

उनले भनेका छन्,‘‘ सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरागर्ने अभियानमा छौँ । यसअभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्।”

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ: देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताएका छन् ।

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा बताएका छन् ।

“मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक पनि हो । विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ”, सन्देशमा उनले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: