
पोखरा । कास्की प्रहरीले पोखराका पेट्रोल पम्पहरुको अवस्था खतरापूर्ण रहेको बताएको छ । कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले घरसँगै जोडिएका पेट्रोल पम्प पेट्रोल बम बन्ने खतरा रहेको बताएका हुन् ।
मासिक प्रगति विवरण सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मुख्य बजार क्षेत्रमा रहेका पेट्रोल पम्प बारे समयमै नसोचे यसले आउँदा दिनमा ठूलो दुर्घटना निम्त्याउने स्पष्ट पारे ।
‘पोखराको पेट्रोल पम्पहरुको अवस्था निकै खतरापूर्ण रहेको पायौं, यसमा स्थानीय निकायले अझ चासो दिनुपर्ने देखियो,’ उनले भने, ‘गम्भीर भएर यसको समाधान नखोजे भोलि ठूलो दुर्घटना नहोला भन्न सकिदैन, पेट्रोल पम्प नै पेट्रोल बम बन्न सक्छ ।’
पेट्रोल पम्पमा राखिने अग्नि नियन्त्रक यन्त्रको अवस्था पनि चिन्तजनक रहेको सुनाए । त्यस्ता यन्त्र कतिपय म्याद गुज्रेका र जाम भएको पाइएको उनले जानकारी दिए ।
पेट्रोल पम्पमा काम गर्ने कर्मचारी त्यस्तो यन्त्र चलाउन नजान्ने रहेकाले आकस्मिक रुप हुने घट्नाको क्षति न्यूनिकरणमा सचेत हुनुपर्ने उनले बताए । यो विषयमा गम्भीर हुन उनले पोखराका पेट्रोल पम्पका संचालकलाई आग्रह गरेका छन् ।
असोजमा मुद्धा दर्ता घट्यो
कास्कीमा चालू आर्थिक वर्षको तेस्रो महिना असोजमा मुद्धा दर्ता संख्या घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको तथ्यांकले साउन र भदौभन्दा असोजमा मुद्धा दर्ता संख्या घटेको देखाएको हो ।
कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीका अनुुसार असोज महिनामा १ सय २९ मुद्धा दर्ता भएको छ । यो संख्या भदौको तुलनामा २५.४३ प्रतिशत कम हो ।
असोेजमा यी मुद्धाअन्तर्गत २ सय ४ पुरुष र ९ महिला गरी २ सय १३ जना पक्राउ परेका छन् । भदौ महिनामा १ सय ७३ मुद्धा दर्ता भएको थियो जसमा २ सय ५५ पुरुष र १९ महिला गरी २ सय ७४ जना पक्राउ परेका थिए ।
यस्तै भदौको तुलनामा साउनमा मुद्धा दर्ता घटे पनि पक्राउ पर्ने भने बढेका थिए । साउन महिनामा २ सय ५२ पुरुष र ४३ महिला गरी २ सय ९५ जना पक्राउ परेका थिए । प्रहरीले हरेक महिनाको समिक्षा गर्दै काम गर्ने गर्दछ ।
दशैंमा १२२ वटा ट्याक्सीलाई कारबाही
यस्तै कास्की प्रहरीले असोज महिनामा २० थान हराएका मोबाईल सम्बन्धित धनीलाई बुझाएको छ । एसपी कार्की आउनुअघि हराएको मोबाईल खोज्ने काम हुँदैनथ्यो । उनी आएपछि अहिलेसम्म १३१ थान मोबाईल फेला परेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एसपी कार्कीले दशैंको सुरक्षा योजना सफल भएको बताए । ‘यसपटक दशैंको सुरक्षा योजना सफल भयो,’ उनले भने ,‘तिहारमा पनि यसलाई निरन्तरता दिने तयारीमा छौं ।’
दशैंको समयमा प्रहरीले बढी भाडा असुल्ने सवारी र मिटरमा नजाने ट्याक्सीमाथि निगरानी बढाएको थियो । दशैंको समयमा मिटरमा नगई आफू खुसी भाडा लिने १२२ वटा ट्याक्सीलाई कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ ।
बढी भाडा लिने गरेको गुनासो आएपछि प्रहरीले ट्याक्सीबाहेक पोखराबाट छुट्ने लामो दुरीका सवारीमाथि पनि निगरानी राखेको थियो ।
त्यस क्रममा ५ वटा बसलाई नियन्त्रणमा लिएर कालोबजारी तथा सार्वजनिक हित बिरुद्धको कसुरअन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।
