
बिग न्यूज
पोखरा, २ कात्तिक । यतिबेला विश्वमै ‘मि टु’ काण्डले व्यापकता पाएको छ । यो काण्डमा धेरै प्रभावशाली व्यक्तिहरु पनि तानिएका छन् । र, कतिले कारबाही पनि भोगिरहेका छन् ।
कुनै समयमा अति निकट हुँदा भएका आत्मियताका कुरालाई पनि मन पर्न छाडेपछि ‘मि टु’ भन्ने प्रचलन चलेपछि यो अभियान विश्वव्यापी नै केही विवादित पनि बनेको छ । त्यसो त दीपक–दीपाको जोडी पनि २५ वर्षयता सँगसँगै आत्मिय तवरले कलाकारितामा जमिरहेको छ ।
यदि दीपा र दीपकको कुनै दिन बेमेल भएर एकअर्कालाई ‘मि टु’ काण्डमा मुछे भने ? ‘हाइपोथेटिकल’ प्रश्न दीपक–दीपाको जोडीले पत्रकारहरुको सामना गरे । ‘अब त्यो स्तरसम्म आरोप प्रत्यारोप गर्ने गरि हाम्रो सम्बन्ध अगाडि बढेको छैन । र, बढ्ने पनि छैन । त्यसैले भविष्यमा यस्तो दिन नआउनेमा म ढुक्क गराउन चाहन्छु ।’ दीपाश्रीले दीपकलाई बोल्ने क्रममा उछिनिन् ।
उता दीपक भने दीपाश्रीसँग मात्र नभएर आफूले थुप्रै महिला कलाकारहरुसँग काम गरिसकेकोले अन्यत्रबाट पनि ‘मि टु’को आरोप आउन सक्ने मजाक गरे । ‘त्यसो त आफ्नै श्रीमतिलाई पनि उसको सहमती बिना एउटा पुरुषले हातपात गरेमा कानुन आकर्षित भैहाल्छ । तर सँगै हुँदा वि टु र केही कुरामा मन नमिले मि टु भन्ने पछिल्लो प्रवृत्ति भने निकै खतरनाक छ । यस विषयमा सबैले चासो दिन आवश्यक छ ।’ दीपकले भने ।
