विमानस्थल पछि अबको चासो ‘पोखरा बसपार्क’

466
0
Share:

रञ्जन अधिकारी. पोखरा २८ कार्तिक । चार दशक भयो पोखराको पृथ्वीचोकमा व्यवस्थित बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण भएको । तर, त्यसबेला छुट्टाईएको दुई सय पाँच रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ । २०६४ सालको नगर योजना अनुसार एक सय २५ रोपनी क्षेत्रमा बसपार्क निर्माण गर्न प्रतिवेदन तयार भएको थियो तर सात वर्ष पछि त्यसको पनि एक तिहाई जग्गा अतिक्रमणमा पर्दा अब पनि दश वर्ष बसपार्क नबन्ने हो भने जग्गा नै सबै अतिक्रमणमा पर्ने त होईन ? भन्ने आशंका पनि व्यक्त हुन थालिसके । दलका प्रतिनिधि प्रमुख रहने पोखरा उपत्यका नगर विकास समिति, कास्की प्रशासनको गैरजिम्मेवारीपनले पनि समस्या थपिँदै गएको कुरालाई नकार्न सकिन्न ।

पोखरेलीको पहिलो सपना यहाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु हो । देखापरेका समस्या र चुनौतिलाई चिर्दै विमानस्थल बन्ने पनि पक्का भो । अब अन्तर्राष्ट्रिय शहरको रुपमा पोखरा स्थापित हुँदै गर्दा व्यवस्थित र सुविधासम्पन्न बसपार्कको टड्कारो आवश्यकता छ । यसका लागि ढिला गर्न नहुनेमा सबैको एकमत छ तर अतिक्रमित जग्गा कसरी खाली गर्न सकिन्छ भन्नेमै ठोस योजना बन्न सकेको छैन । गत सोमवार पश्चिमाञ्चल क्षेत्रिय प्रशासकले बोलाएको बैठकमा बसपार्क निर्माणको काम अघि बढाउन पहल गर्ने निर्णय भएको थियो । भोलिपल्ट मंगलबार पोखरामा आयोजित सर्वपक्षिय भेलाबाट पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापा संयोजक रहेको पोखरा बसपार्क निर्माण सरोकार समिति गठन गरिएको थियो । शुक्रबार पोखरा उपत्यका नगर विकास समितिको आह्वानमा बसपार्क निर्माण सम्बन्धमा नै दोस्रो सर्वपक्षीय भेला बस्यो । पोखरा बसपार्कलाई सिटी बसपार्कको रुपमा  निर्माण गर्न र दिर्घकालिन उपयोगिताको दृष्टीले समेत सोच्न सरोकारवालाले सुझाब दिएका छन् ।

बसपार्कमा अव्यवस्थित रुपमा बसेका सुकुम्बासी बस्ती नै मुख्य समस्या भएको आवाज आईरहँदा सुकुम्बासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष मानबहादुर जिसी भने सुकुम्बासी समस्या मान्न तयार छैनन् । ‘राज्यले नै सुकुम्बासी समस्या समाधान गर्ने जिम्मा आयोगलाई दिएको छ । यो समस्या समाधान गर्ने अधिकार मलाई नै छ भन्नुहुन्छ भने मेरा निर्णय यहाँका सबै दलले मान्नुपर्छ ।’ जिसीले भेलामा भने– ‘पैसा छ भने सबैलाई सम्मानपूर्वक उठाऔं । तर बलजफ्ती मान्य छैन ।’

Bus-park

नागरिक समाजका रामबहादुर पौडेलले बसपार्कका नाममा कसैले राजनीति नगर्न सुझाए । ‘हामी विकास चाहन्छौं । व्यक्तिगत स्वार्थबाट माथि उठेर साझा पहलले बसपार्क निर्माण गरौं । सामाजिक न्यायका आधारमा काम हुनुपर्छ ।’ पोखरा उपत्यका नगर बिकास समितिका पूर्ब अध्यक्ष बिश्वप्रकाश लामिछानेले २०६४ सालकै प्रतिवेदनलाई समयानुरुप सुधार्दै अघि बढ्नुपर्ने बताए । ‘तत्कालिन दलहरु सबैको सहमति त्यसैमा छ । अब सुधार गर्नुपर्ने कुरा राख्दै अघि बढे राम्रो हुन्छ ।’ उनले भने ।

अर्का पूर्व अध्यक्ष जीतबहादुर गुरुङ मामाले आफूले १७ महिनासम्म ७६ रोपनी सट्टाभर्ना जग्गाका लागि राज्यसँग पहल गर्दा पनि सुनुवाई नभएकाले पोखरामा बसपार्ककै लागि राज्यले केहि व्यवस्था नगर्ने ठोकुवा गरे । ‘बसपार्क निर्माणका लागि २० करोड, ३० करोड जति लाग्छ जुट्छ भनेर कोहिले चर्चा कमाउन नभने हुन्छ ।’ उनले निकै उदास हुँदै भने– ‘मैले धेरै गर्न खोज्दा थाकेँ । अब यस्तो तालले बसपार्क बन्दैन ।’

तर, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापा विमानस्थल निर्माणमा पोखरेली एकजुट भएजस्तै बसपार्क निर्माणमा पनि सरोकारवाला सबै पक्षसंग समन्वय गरी नागरिक स्तरबाट दवाबको लागि अग्रसर हुनुपर्ने बताउँछन् । विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय शहरका रुपमा पोखरा विकास भएपछि पहिलो आवश्यकता नै व्यवस्थित बसपार्क हुने भएकाले धेरै ढिला गर्न नहुने थापा बताउँछन् ।

भेलामा अतिक्रमित जग्गालाई छोडेर बाँकी रहेको क्षेत्रमा बसपार्क निर्माणको काम थाल्ने उपत्यका नगरबिकास समितिको तयारीलाई सबैले विरोध गरे । बसपार्कमा सुकुम्बासी बस्ती समस्या, घडेरी विक्री हुनु र लालपूर्जा समेत भएकाहरुलाई हटाउनु मुख्य चुनौति हो । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले उच्चस्तरीय छानविनी गरी सार्वजनि गरेपछि पारदर्शी हिसाबले अघि बढ्नुपर्ने सुझाव दिए । एकीकृत माओवादी कास्कीका अध्यक्ष दीपक कोईरालाले सुकुम्बासी पहिचान गरी उनीहरुकै चाहना बमोजिम स्थानान्तरण गर्न पहल थाल्नुपर्ने बताए ।

स्थानीय विष्णुमाया श्रेष्ठले एयरपोबार्ट उठाउने क्रममा बसपार्कको जग्गामा स्थानान्तरणपछि अहिले फेरि अन्य सुकुम्बासी बस्ती सरह नै त्यहाँबाट विना योजना उठाउन खोजेकोमा आपत्ति जनाईन् । राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले २०५ रोपनी जग्गा अधिग्रहण गरेपछि सोहि जग्गा खोज्नुपर्ने भन्दै हतारमा बसपार्क निर्माण गर्न नहुने बताए । राष्ट्रिय जनमोर्चा कास्कीका शंकर बरालले नगर विकास समितिमा रहेका दलहरुबीच नै एकै धारणा बन्न नसकिरहेको भन्दै अतिक्रमित जग्गाको छानबिन सहित सुकुम्बासी समस्या समाधान गरी बसपार्क निर्माणको काम सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

नगर समितिका सदस्य बजिरमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल लगायतले पर्यटकिय नगरी पोखरामा एउटा पनि ब्यबस्थित बसपार्क नहुनु लाजमर्दो कुरा भएकाले यथासक्य छिटो बस पार्क निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: