
गोरखा।बूढीगण्डकी जलविद्युत परियोजना अघि बढाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन अनन्तले धादिङ र गोरखाका सांसद र सरोकालवालासँग छलफल गरेका छन ।मन्त्री पुनले बूढीगण्डकी जलविद्युत परियोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधीहरुलाई मुआब्जा निर्धारण गरेर अघि बढ्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिए। उनले सरोकारबाला सबैलाई यो काममा सहयोग गरिदिनसमेत आग्रह गरे ।
बूढीगण्डकी जलविद्युत आयोजना सरकारको प्राथमिकताको रहेको भन्दै आयोजना अघि बढ्नेमा शंका नगर्न मन्त्री पुनको भनाइ थियो ।‘सरकार र मन्त्रालय बूढीगण्डकी जलविद्युत परियोजना अघि बढाउन प्रतिबद्ध छ, यो सरकारको उच्च प्राथमिकतामा रहेको परियोजना हो । यसलाई अघि बढाउन हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ, यसमा तपाइँहरुले शंका गर्न आवश्यक छैन ।’ मन्त्री पुनले भने ।
सरकारले ४४ हजारभन्दा बढी रोपनीको मुआब्जा वितरण गरिसकेको छ भने १८ सय रोपनी जग्गाको मूल्य निर्धारण बाँकी रहेको छ । यो जग्गाको मूल्य निर्धारणको लागी मन्त्रालयले सबै सरोकारवालाहरुसँग छलफल अघि बढाएको हो । गोरखाको आरुघाट, आरखेत र धादिङको आरुघाट र खहरेमा मुआब्जा निर्धारण बाँकी छ ।छलफलमा पूर्वमन्त्री गंगालाल तुलाधरले आयोजना चाँडोभन्दा चाडो अघि बढाइदिन आग्रह गरे । उनले बूढीगण्डकी परियोजना देशको लागि गेम चेन्जर आयोजना भएको भन्दै सरकारले यो परियोजना प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व सांसद चीनकाजी श्रेष्ठले आयोजना अघि बढाउन सहयोग गर्न तयार रहेको भन्दै सरकारको प्राथमिकतामा पारिदिन आग्रह गरे । त्यस्तै, नेकपाका नेता तथा सांसद हरि अधिकारीले मुआब्जा निर्धारण गर्न बाँकी जग्गाको टुंगो लगाइदिन मन्त्री पुनसँग आग्रह गरे।छलफलमा धादिङका पूर्वमन्त्री गंगालाल तुलाधर, कांग्रेस नेता चीनकाजी श्रेष्ठ, सांसद हरि अधिकारी, प्रदेश सांसद रामकुमार अधिकारी, प्रतिनिधिसभाका सदस्य भूमि त्रिपाठी र पूर्व सांसद गुरु बुर्लाकोटी सहभागी रहेका थिए ।
