
पोखरा । पर्यटकीय शहरमा पोखरामा निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार विदेशी खोज्ने तयारीमा जुटेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।
चिनियाँ निर्माण कम्पनी सीएमसीईले २०१७ को अगस्तबाट विमानस्थल निर्माण सुरु गरेको थियोे । सन् २०२१ को जुलाईमा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ ।
निर्धारित समयमै काम पूरा नगरे सरकारलाई क्षतिपूर्ति दिने सर्तमा कम्पनीले ठेक्का लिएको थियो । विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ । निर्माण कम्पनीले भने ६ महिना अघि नै पूरा गर्ने बताउँदै आएको छ ।
यता भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनीसँग छलफल अन्तिम चरणमा पुगेको छ। भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ।
