कास्की-२ उपनिर्वाचन : साझाबाट रजनी केसी लड्ने

Share:

पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की क्षेत्र नं २ मा साझा पार्टीबाट रजनी केसी उठ्ने भएकी छन् । मंगलबार र बुधबार पोखरामा बसेको साझा पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकको निर्णय सार्वजनिक गर्न बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले सो जानकारी दिए । उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ।

उम्मेदवार के.सी हालै मात्र कांग्रेस परित्याग गरेर साझा पार्टी प्रवेश गरेकी हुन् । उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।

उनले गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएकी थिइन् । पत्रकार सम्मेलनमा बोल्दै के.सीले आफू इमान्दार र नैतिकताको पक्षमा रहेको बताइन् । देश परिवर्तनका लागि साझा पार्टीमा आबद्वता जनाएको उनले स्पष्ट पारिन् ।

उपनिर्वाचनलाई जनमत संग्रहको रुपमा लिइएको पार्टीले जनाएको छ । राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखि सिर्जनात्मक शक्तिमा बदल्न भरपर्दो विकल्प हुने दाबी पार्टीले गरेको छ ।

पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले देशभरका बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

कास्की क्षेत्र नं. २ देशभरमध्ये प्रतिनिधिसभाको उपनिर्वाचन हुने एकमात्र क्षेत्र हो। तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा गएको १५ फागुनमा निधन भएपछि यो क्षेत्र रिक्त छ ।

कमेन्ट गर्नुहोस्
Share: