कास्कीमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने (अडियो)

Share:

पोखरा । कास्कीमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने जनाएको हो।

कार्यालयले बिहिबार सार्वजनिक सूचना जारी गरेर पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । यस्तै प्रशासनले मदिराजन्य पदार्थ बिक्री गर्ने व्यवसायीलाई कानुन अनुसार अघि बढ्न भनेको छ ।

राति १० बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

‘राति १० बजेपछि देउसी-भैलो खेल्न नपाउने भन्ने निर्णय भएको छ, सुरक्षा योजना दशैंमा नै बनाएका थियौं,’ उनले भने,’ म सबैलाई सभ्य तरिकाले रीतिरिवाज र परम्पराअनुसार तिहार मनाउन आग्रह गर्छु ।’

विष्फोटक पदार्थ (पटाका) पड्काइएको पाइएमा पक्राउ गरी कारवाही गरिने भएको छ । यस्तै कास्की प्रहरीले दशैं जस्तै तिहारमा पनि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले कसैले यात्राको क्रममा बढी भाडा मागे प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेका छन् ।

दशैंको समयमा प्रहरीले बढी भाडा असुल्ने सवारी र मिटरमा नजाने ट्याक्सीमाथि निगरानी बढाएको थियो । दशैंको समयमा मिटरमा नगई आफू खुसी भाडा लिने १२२ वटा ट्याक्सीलाई कारबाही गरिएको थियो ।

प्रहरी कन्ट्रोल रुम १००, कार्यालय प्रमुखको ९८५६००५५५५, प्रवक्ताको ९८५६०३५५१२ र ट्राफिक प्रहरी कण्ट्रोल रुमको नं. १०३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

यो पनि – पोखरामा बढी भाडा असुल्ने ६ वटा सवारी प्रहरी नियन्त्रणमा, बढी भाडा मागे खबर गर्न आग्रह

कमेन्ट गर्नुहोस्
Share: