सकियो साझा पार्टीको चुनाव लक्षित तीन दिने देउसी भैलो कार्यक्रम

Share:

पोखरा । साझा पार्टीले तिहारको अवसर पारेर आयोजना गरेको चुनाव लक्षित तीन दिने देउसी भैलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । पार्टीको कास्की जिल्ला कार्यसमितिले संस्कृतिको जगेर्नासहित सो देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

सोमबार छोरेपाटन, बिरौटा र रामबजारमा खेलेसँगै तीन दिने कार्यक्रम सकिएको कार्यक्रम संयोजक फडिन्द्र मोहन कँडेलले जानकारी दिए । चुनाव नजिकिँदै गएकाले पनि जनतासँग जोडिन देउसी भैलो कार्यक्रम प्रभावकारी बनेको उनले बताए ।

‘तिहारमा खेलिने देउसी भैलोको संस्कृति जगेर्ना गर्ने उद्देशयले देउसी भैलो खेल्यौँ,’ उनले भने, ‘नजिकिदै गरेको उपनिर्वाचनका लागि जनतासँग जोडिने राम्रो माध्यम पनि बन्यो ।’

पार्टीका तर्फबाट कास्की क्षेत्र नम्बर २ का लागि उम्मेदवार घोषित भइसकेकी रजनी के.सी पनि कार्यक्रममा सहभागि भएकी थिइन् । उनले पनि तीन दिने कार्यक्रमको अनुभव सुनाउँदै कास्की २ का जनता साझा पार्टी प्रति निकै सकरात्मक रहेको बताइन् ।

‘भ्रष्टाचार विरुद्ध आवाज उठाएकोमा यस क्षेत्रका जनता हामीप्रति सकरात्मक रहेको मैले पाएँ, तिहारको शुभकामना दिँदै हामी जनतामाझ जोडिने मौका मिल्यो,’ उनले भनिन् ।

चुनावमा सीमित नेता कार्यकर्तामार्फत जनताको घरदैलोमा पुग्ने पार्टीका कास्की जिल्ला संयोजक अर्जुन प्रसाद खनालले बताए ।

पार्टीले शनिबार सिर्जनाचोक, महेनद्रपुल, चिप्लेढुङ्गा, लामाचौर, जैमुरेलगायतका ठाउँमा कार्यक्रम गरेको थियो । यस्तै आइतबार बागमारा, निर्मलपोखरी, भरतपोखरी, महतगौंडालगायतका ठाउँमा देउसी भैलो कार्यक्रम गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्
Share: