उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

799
0
Share:

काठमाडौँ । आज छठ पर्वको चौथो अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको छ। चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवध रूपमा यो पर्व सम्पन्न भएको छ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ। यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी भेगमा पनि मनाउन थालिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: