
दमौली – तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन् ।
भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन् ।
चितुवा नियन्त्रणका लागि कोषका ६ जना विज्ञ टोली परिचालित भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।
चितुवा प्रभावित वडामा क्यामरा जडान गरेर चितुवा पहिचान गरिने भएको छ । चितुवा नियन्त्रणका लागि नगरपालिकाको सामुदायिक वनमा परम्परागत खोर राखिएको छ । भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणका लागि संरक्षण कोषका विज्ञलाई नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने बताए ।
चितुवाको गतिविधिले गएको डेढ वर्षदेखि भानु नगरपालिकाका बासिन्दा आतंकित छन। चितुवाको आक्रमणबाट अहिलेसम्म भानुमा ६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यो पनि
– परम्परागत पासोमा यसरी पर्यो नरभक्षी चितुवा (भिडियो हेर्नुहोस)
–तनहुँको भानुमा चितुवा खोरमा परेकै साँझ फेरि ७ वर्षीय बालकको ज्यान लियाे
–तनहुँमा चितुवा नियन्त्रणका लागि प्रदेश सरकारबाट ३० लाख विनियोजन
