रञ्जन अधिकारी पोखरा, ३ मंसीर / पोखरा बिश्वबिद्यालयमा पदाधिकारी नियुक्तको बिरोधमा आमरण अनसन जारी रहेपछि उत्पन्न स्थिति सहज बनाउन भन्दै नयाँ नियुक्त पदाधिकारीले राजिनामा दिएका छन् । व्यवस्थापनतर्फका डिन डा. दीपक बहादुर भण्डारीका अनुसार पाँच पदाधिकारीले राजिनामा दिएका हुन् । उनीसँगै रजिष्ट्रार राजेश ठकुराठी, , विज्ञान संकाय तर्फका डिन डा. निर्मला जम्मरकट्टेल र माानविकी संकायतर्फ डिनमा नियुक्त गरिएका अजय थापा सहित परिक्षा नियन्त्रक अनुप आचार्यले राजिनामा दिएको व्यवस्थापन डिन भण्डारीले बिग एफएमलाई जानकारी दिए ।
‘आमरण अनसन समेत जारी छ । अवस्था नाजुक बन्दै गएको अवस्थामा हामीले राजिनामा दिने निर्णय गरेका हौं ।’ डा. भण्डारीले भने– ‘उत्पन्न असहज अवस्था सामान्य हुने ठानेर यो निर्णय गरेका हौं ।’ बिश्वबिद्यालय ऐन अनुसार बरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्नुपर्नेमा आफु अनुकुलका ब्यक्तिलाई राजनितिक आस्थाको आधारमा नियुक्त गरेको भन्दै प्राध्यापक तथा बिद्यार्थीहरु आन्दोलित भएका हुन् । तर डा. भण्डारीले आफू र विज्ञान डिन जम्मर कट्टेलका सवालमा भने कुनै विवाद नरहेको बताए । ‘वरियता अनुसार हामी नै हुनुपर्ने हो र भयौं पनि । हामी दुईमा चाहिँ कुनै विवाद छैन ।’ उनले भने । प्रक्रिया अनुसार नै भएको दाबी गर्ने भण्डारी र जम्मरकट्टेलले राजिनामा दिएको बताईएपनि अन्य तीन पदाधिकारी भने खुलेर आएका छैनन् ।
नियुक्तिको विरोधमा सहप्राध्यापक गोबिन्द प्रसाद लामिछानेले आमरण अनसन सुरु गरेका थिए । बिश्वबिद्यालयमा कार्यरत सबै प्राध्यापक तथा बिद्यार्थी पठनपाठन नै छोडेर लामिछानेको अनसनमा एक्येबद्धता जनाएपछि पदाधिकारीहरु यो निर्णयमा पुगेका हुन् ।
पोविमा उपकुलपति नियुक्तिपछि प्रा.डा. विष्णुराज तिवारीले विश्वबिद्यालयको रजिष्टारमा राजेश ठकुराठी, परीक्षा नियन्त्रक अनुप आचार्य, बिज्ञान तथा प्रबिधि संकायका डीन निर्मला जमरकट्टेल, ब्यबस्थापन संकायका डीन दिपक भण्डारी र मानविकी संकायको डीनमा अजय थापालाई नियुक्त गरेका थिए । प्राध्यापक र सह प्राध्यापक हुदा हुदै उपप्रध्यापकलाई जिम्मेवारी दिएर पदाधिकारी नियुक्तीमा तिवारीले एकलौटी गरेको प्रगतिशत प्राध्यापक संगठनका कार्यबहाक अध्यक्ष बिवेक पुडासैनीले बताए ।
