धावनमार्ग आसपास सरसफाई गरेपछि घट्न थाल्यो स्याल आतंक

Share:

पोखरा । पोखरा विमानस्थलमा करिब एक महिनादेखि देखा पर्न थालेको स्यालको समस्या घट्न थालेको छ । कार्तिक महिना सुरु भएसँगै विमानस्थलको धावनमार्गमा स्याल देखिन थालेका थिए ।

धावनमार्गमा स्याल दौडिन थालेपछि कर्मचारी आक्रान्त बनेका थिए । स्यालले दु:ख दिन थालेपछि धावनमार्ग आसपासको झाडी अहिले डोजर लगाएर हटाइएको छ । यो उपाय अपनाएसँगै समस्या घट्न थालेको हो ।

पूर्ण रुपमा समाधान नभए पनि धावनमार्गमा स्याल देखिने क्रम घट्न थालेको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए ।

यो पनि –पोखरा विमानस्थलको धावनमार्गमा आउन थाले स्याल, धपाउनलाई कर्मचारी खटाइयो

‘स्याल धावनमार्गमा आउन थाले पछि समस्या ब्यहोरी रहेका छौँ,’ सूचना अधिकारी पौडेलले भने, ‘पाँच दिन लगाएर धावनमार्ग आसपासको झाडी हटायौँ, स्याल पहिले जस्तो देखिएका छैनन् ।’

दर्घटना नहोस भन्ने हेतुले विमानस्थल कार्यालयले अहिले ६ जना कर्मचारीलाई स्याल धपाउन खटाएको छ । त्यसमा दुई जना चरा धपाउन खटिने कर्मचारी हुन भने अन्य चार जना सुरक्षा गार्ड र माली हुन ।

विमानस्थलको धावनमार्ग आसपासका झाडीबाट बिहानको समयमा खुल्ला रहेको धावनमार्गमा स्याल आउने गरेका छन । समस्या पूर्ण रुपमा समाधान नभए स्थानीय निकायसँग समन्वय गर्ने उनले बताए ।

‘अझै एकदुई दिन हेर्छौ, त्यसपछि पनि केही उपाय नलागे स्थानीय निकायसँग समन्वय गर्छौ,’ पौडेलले बिगखबरसँग भने । स्यालकै कारण कुनै ठूलो दर्घटना नभए पनि गएको कार्तिक १४ गते बुद्ध एयरको जहाजले स्याल देखिएपछि अवतरण गर्नै लाग्दा उचाइ लिएको थियो ।

विमानस्थलमा अहिले स्यालले सताउने गरे पनि १५ वर्ष अघि बाघ समेत देखिने गरेको थियो । त्यसबखत पनि आसपास रहेको झाडी हटाए पछि आउन छाडेको बताइन्छ । पोखरा विमानस्थलबाट काठमाडौं, भरतपुर, जोमसोम, मनाङलगायतका गन्तव्यमा गरी दैनिक ३० उडान हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: