चुनावलाई प्रभाव पार्न नेकपाले कम्बल बाँडेको कांग्रेसको आरोप, निर्वाचन आयोगमा उजुरी

Share:

पोखरा । नेपाली कांग्रेस कास्कीले उपनिर्वाचनलाई प्रभाव पार्नेगरि कम्बल बितरण गरेको आरोप लगाएको छ। पोखरा-१५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बाँडेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१५, पट्नेरी वस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनतालाई कम्बल वितरण गरेका थिए । वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कास्की कांग्रेसले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं ।’

‘हतास मनस्थितिबाट गरिएको यस प्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कार्वाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आयोगमा उजुरी

यसैबीच निर्वाचन आचारसंहिता विपरीत वडा कार्यालयले कम्वल वितरण गरेको भन्दै कास्की कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।

पार्टी सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्र भित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्ष लगायत त्यस कार्यमा संलग्नलाई कार्वाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको हो ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: