व्यापार मेलामा एकैदिन २९ हजार दर्शक, तनि दिनसम्ममा साढे ३ करोडको कारोबार

Share:

पोखरा, ६ मंसिर । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दर्शकको भीड बढेको छ । मेलाको शनिबार मात्र २९ हजार दर्शकले अवलोकन गरेको आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा प्रचार–प्रसार उपसमिति संयोजक रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । मेलामा शनिबारमात्र २ करोड ५० लाखको आर्थिक कारोबार भएको उनले बताए । ‘शनिबार मात्र २९ हजार दर्शकले मेलाको अवलोकन गर्नुभएको छ,’ प्रजुले भने । बिहीबारबाट सुरु मेलाको तेस्रो दिनसम्म ५१ हजार दर्शकले अवलोकन गरेका छन् ।

National-Industrial-Trade-F

मेला अन्तर्गत शनिबार एकलनृत्य र लोकदोहरी प्रतियोगिता जारी रह्यो । एकल नृत्यतर्फ कुमुदिनी होम्स् उमाविका प्रसुन गुरुङ, ग्लोबल कलिजियट स्कूलका निशा गुरुङ र विन्ध्येश्वरी माविका रञ्जु बस्याल विजयी भएका छन् । दोहोरीतर्फ रुपहिल दोहारी साँझ विजयी भएको छ ।

मेलामा आइतबार लोकदोहरी गीततर्फ राम्जी खाँड, ज्योती मगर, राजन कार्की, सुरेन्द्र गुरुङ, रतिमाया खड्का, सरस्वती लामिछानेको प्रस्तुति रहनेभएको छ । हास्यव्यङ्ग्यतर्फ शिवहरि बैरागी (सभासद्), देविराम पराजुली (भोकलाग्यो), निरज नेपाल (डण्डा घुमाएर)का साथमा पोखरेली कलाकारको प्रस्तुति रहनेछ । आइतबार साँझको कार्यक्रममा एक्स–मन्त्र व्याण्डको विशेष प्रस्तुतिसहित मोर्डन डान्स रहने सांस्कृतिक उपसमिति संयोजक पवन प्रजापतिले जानकारी दिए ।

मेलामा प्रवेश गर्ने दर्शकलाई टिकटको अर्धकट्टीको लक्की ड्रमार्फत प्रत्येक दिन एक थान सामसुङ मोबाइल प्रदान गरिने टिकट व्यवस्थापन उपसमिति संयोजक तथा संघका कार्यसमिति संयोजक अमित राज मुल्मीले जानकारी दिए । शुक्रबारको प्रवेश टिकटका आधारमा ३५ रुपैयााँको ०००६४ नम्बरको टिकटलाई मोबाइल उपहार परेको उनले बताए ।

नेपाली उत्पादन ग्राहकको आकर्षण

व्यापार मेलामा नेपाली उत्पादन ग्राहकको आकर्षण बनेको छ । ‘मेड इन नेपाल’ पेभेलियनमा राखिएका नेपाली उत्पादनका स्टलमा सामान खरीद गर्ने ग्राहक निकै बढेको संघका द्वितीय उपाध्यक्ष तथा स्टल व्यवस्थापन उपसमिति संयोजक मीनराज काफ्लेले जानकारी दिए ।

मेड नेपाल पेभिलियनमा नेपाली उत्पादनका ३८ वटा स्टल छन् । ‘सबै स्टलमा पोखरा तथा नेपालमा उत्पादित बस्तुमात्र बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ,’ काफ्लेले भने । मेड इन पेभिलियनमा हर्बल प्रडक्ट, किबी जातको सुन्तला, हर्बल चिया, नेपालका जडिबुटीका उत्पादनहरु, बिस्कुट, जिन्स पाइन्ट, एभरेष्ट पस्मिना, दालमोठ, जुत्ता, अर्गानिक जुस बिक्रीमा राखिएको छ । नेपाल युवा उद्यमी मञ्चद्वारा सञ्चालित लखपति योजना अन्तर्गतका उत्पादन झिलिङ्गा, चिप्स, लखामरी पनि प्रदर्शनी तथा बिक्रीमा राखिएको मञ्चका अध्यक्ष संघका उपमहासचिव प्रकाशदेव पालिखेले जानकारी दिए । त्यसैगरी सोही पेभिलियनमा नेपालमा उप्पादित विभिन्न वाइन, टायल, ग्राउन एप्पल, महलगायतका उत्पादन पनि राखिएका छन् । मेला मंसिर १४ गतेसम्म जारी रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: