
झापा । पाक्न लागेको धानमा फड्के कीरा लागेपछि यतिबेला झापाका किसान खेतमा धमाधम आगो लगाइरहेका छन् । कीराको संक्रमणले धानबाली सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् ।
फड्के कीराको संक्रमणका कारण धान उत्पादनको भण्डार मानिने झापामा २ सय २५ बिघामा उत्पादन भएको धान खेतमा नै आगो लगाउनुपरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
धान पसाउने बेलामा फौजी कीराको संक्रमण झेलेका किसानल धान पाक्ने बेला फड्केको नोक्सानी बेहोरिरहेका छन् । मेचिनगर–९ का कमलमणि पौडेलले फड्के कीराले धानको जरा काटेपछि १० कट्ठामा आगो लगाइसकेको बताए ।
भुसुनाजस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाउने गरेको उनी बताउँछन् । दुईचार दिनमै खेतको सबै धान कीराले सखाप पारेपछि बर्खाभरी किसानले खेतमा गरेको दुःख खेर गएको छ ।
किरा लागेको पराल गाइवस्तुलाई पनि खुवाउन नमिल्ने भएका कारण खेतै आगो लगाएर नष्ट गर्नुपरेको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत शेषराज पौडेलले बताए ।
आजको कारोबार दैनिकबाट
