
पोखरा । आगामी मंसिर १४ गते रिक्त पदपूर्तिकाका लागि उपनिर्वाचन हँदैछ । कास्की–२ पनि रिक्त क्षेत्र मध्ये एक हो ।
तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन हुँदैछ ।
७१ हजार मतदाता, महिला धेरै
जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।
कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् ।
मतदानका लागि कास्की-२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.विमा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र हुने छन् ।
सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।
२९ विद्यालयमा सार्वजनिक बिदा
मङ्सिर १४ गते हुने कास्की-२ को उपनिर्वाचनका लागि बिहिबारदेखि पोखराका दुई दर्जन बढी विद्यालय बिदा हुने भएका छन् । मतदानका लागि तयारी गर्नु पर्ने भएकाले मतदान नसकिंदासम्म मतदान केन्द्र तोकिएका विद्यालयमा सार्वजनिक बिदा दिइएको हो ।
निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाका २९ विद्यालयमा मतदान हुने भएकाले बिदा दिने निर्णय गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । मतदान केन्द्र तोकिएकाबाहेक अन्य विद्यालयमा नियमित पठनपाठन हुनेछन् ।
बिदाको समय विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न महानगरले पत्रमार्फत सूचित गरेको छ ।
कसको चुनाव चिन्ह के ?
कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र छन् ।
स्वतन्त्र रुपमा उठेका उम नाथ गौतमले किताब, कमल जङ्ग कुँवरले शङ्ख, जमुना शर्माले गुलाफको फूल, दिपक रेग्मीले क्यामेरा, नबराज बास्तोलाले कलम, यज्ञ प्रसाद पंगेनीले आँप, रन बहादुर दमैले डोजर, लक्ष्मी कुमारी भुजेलले माहुरी, सुनिल बहादुर कोइरालाले टेबुल र सुनिल भुसालले क्रिकेट ब्याट चुनाव चिन्ह पाएका छन् ।
अन्य ११ दलीय उम्मेदवारको भने दलीय चिन्ह छ ।
कास्की-२ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्ष काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाटलगायत चुनावी मैदानमा छन्।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ चुनावी मैदानमा छन्।
गएको निर्वाचनको मत
२०७४ सालको निर्वाचनमा रवीन्द्र अधिकारीले कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मत अन्तरले पराजित गरेका थिए ।अधिकारीले २७ हजार २ सय ७ र चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए ।
सो निर्वाचनमा तेस्रो भएको तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार श्रीकृष्ण श्रेष्ठले ८ सय ४३ मत पाएका थिए ।
सम्बन्धित सामाग्री::
कास्की-२ उपनिर्वाचन : २१ उम्मेदवारले पाए चुनाव चिन्ह
कास्की–२ उपनिर्वाचन : के भन्छन् उम्मेदवार ? (अडियो सामाग्री)


