पोखरामा हुने साग खेलमा सहभागी खेलाडीलाई पोशाक वितरण सुरु

Share:

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने खेलमा सहभागी खेलाडीलाई शनिबारदेखि पोशाक वितरण सुरु भएको छ।

१३ औं साग सामाग्री उपकरण तथा पोशाक व्यवस्थापन समितिले ब्याडमिन्टन खेलाडीलाई हस्तान्तरण गरेर पोशाक वितरण सुरु गरेको हो। पहिलो चरणमा ब्याडमिन्टन खेलाडीलाई पोशाक वितरण गरिएको समिति संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिए।

१० जना पुरुष, १० महिला भलिबल खेलाडी, ६ जना प्रशिक्षक र २ जना अफिसियल गरी २८ जनालाई पोशाक वितरण गरिएको उनले बताए। ‘बाँकी खेलका पनि पोशाक आउँदैछन्। सबैले पोशाकलाई क्रमैसँग पोशाक वितरण गर्छौं’, उनले भने। ब्याडमिन्टन खेल आइतबारदेखि पोखरा बहुउद्देश्यी कभर्डहलमा सुरु हुँदैछ।

प्रतियोगिता मंसिर १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। टिम इभेन्टतर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मंसिर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन्।

व्यक्तिगत इभेन्टतर्फ मंसिर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुनेछन्। १८ गते महिला तथा पुरुष सिंगल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ। १९ गते सबै इभेन्टका सेमिफाइनल खेल हुनेछन्। २० गते सबै इभेन्टका फाइनल खेल हुनेछन्।

कमेन्ट गर्नुहोस्
Share: