
पोखरा । प्रतिनिधिसभाको एक मात्रै उपनिर्वाचन भएको कास्की २ मा ६३.४० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्यांक अनुसार जम्मा मतदाता ७१ हजार ८ सय ७१ रहेकोमा ४५ हजार ५ सय ६३ मत खसेको हो । पुरुष २० हजार ७सय ८४ र महिला २४ हजार ७ सय ७९ जनाले मत खसाले । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ । कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।
संकलन मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसी सम्भव भएसम्म आजै मतगणना सुरु गर्ने जनाइएको छ । जिल्ला समन्वय समिति कास्कीको कार्यालयमा मतगणनाका लागि ठाउँ तयार पारिएको छ । तारजाली लगाएर मत गणना गरिने भएको छ ।
कास्की २ मा पोखराका ११ वटा वडा पर्छन् । केही शहरी वडा भएपनि ग्र्रामिण वडाहरु धेरे पर रहेको र सडक सञ्जाल राम्रो नभएका कारण मतपेटिका जम्मा गर्न केही लामो समय लागेको थियो । सबैभन्दा धेरै ३३ नम्बर वडामा मतदान भएको छ । नेकपाकी उम्मेदवार विद्या भट्टाईले पनि यही वडाबाट मतदान गरेकी थिईन् ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट ७० प्रतिशत भन्दा बढी मत खसेको थियो । पहिले ४९ हजार मतदान भएको यो क्षेत्रमा अहिले कम मत खसेको हो । विहानैदेखि निरन्तर रुपमा बम पड्किएका कारण कम मत खसेको हुनसक्ने अनुमान छ ।
कास्की २ बाट निर्वाचित तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उडडयन रवीन्द्र अधिकारीको गएको फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि यो क्षेत्र रिक्त छ । उनकै उत्तराधिकारी चयनका लागि आज मतदान भएको हो ।
४ ठाउँमा बम विस्फोट !
शनिबार पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटका घटना भएका थिए ।
पोखरा १६ को शान्ती मावि मतदान स्थल र चण्डिका आधारभूत मतदान स्थल, पोखरा ३३ को सरस्वती टिका मावि मतदान, पोखरा ९ को नवप्रभात मावि मतदान स्थल नजिकै बम विस्फोट भएको थियो ।

