काठमाडौं, मंसिर ११
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको १८ औँ शिखर सम्मेलन आज सकिंदैछ । हिजोदेखि सुरु भएको सम्मेलनले आज काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
सार्क बैठकले मन्त्रिपरिषद्को ३६ औँ बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ । हिजो शिखर सम्मेलनमा आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइराला सार्कको अध्यक्षमा निर्वाचित भएलगत्तै सदस्य राष्ट्रका प्रमुख र पर्यवेक्षकहरूको सम्बोधनपछि प्रधानमन्त्री कोइरालाले मन्त्रिपरिषद्को प्रतिवेदन अनुमोदनका लागि प्रस्ताव गरेका थिए ।
सार्क बडापत्रको प्रावधान अनुसार शिखर सम्मेलन सुरु हुनुअघि सदस्य राष्ट्रका विदेश सहसचिवस्तरीय कार्यक्रम समिति, सचिवस्तरीय स्थायी समिति र मन्त्रिस्तरीय मन्त्रिपरिषद्ले कार्यसूची पारित गरेपछि त्यसलाई राष्ट्राध्यक्ष÷सरकार प्रमुखको शिखर सम्मेलनमा अनुमोदन गर्ने गरिन्छ । सार्कका राष्ट्र तथा सरकार प्रमुखले दक्षिण एसियाली क्षेत्रको भविष्य उज्ज्वल बनाउन सम्बद्ध मुलुक एकताबद्ध भएर विद्यमान साझा चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, सार्क शिखर सम्मेलनमा सहभागी सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु अहिले हेलिकप्टरबाट धुलिखेल रिट्रिटमा गएका छन् ।
दिउँसो दुई बजेसम्म चल्ने रिट्रिटमा धुलिखेलमा लन्च लिएर सम्मेलनको समापन समारोहमा भाग लिन सार्क राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेछन् । रिट्रिटका लागि हिजैदेखि सुरक्षाजाँच र निगरानीलाई कडा पारिएको छ । रिट्रिटमा रिफ्रेशमेन्टसँगै केही अनौपचारिक सम्वाद पनि हुनेछ ।
रिट्रिटमा प्रधानमन्त्री सुशील कोइराला, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ,श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनसहित अन्य केही विशिष्ट पाहुनाहरु सहभागी छन् ।
