जिशिअको गाडी आगजनी, विद्यार्थी संगठनले कुर्सी पनि जलाए, शुक्रबार नीजि शैक्षिक संस्था बन्दको चेतावनी

Share:

रञ्जन अधिकारी पोखरा, ११ मंसीर / कास्कीका जिल्ला शिक्षा अधिकारीले चढ्दै आएको गाडी आगजनी भएको छ । अपरिचित समूहले विहिबार साँझ जिल्ला शिक्षा कार्यालयको बा २ झ १००९ नम्बरको गाडीलाई नियन्त्रणमा लिएर आगो लगाएको प्रहरीले जनाएको छ । हरिचोकबाट पस्र्याङतर्फ जाने क्रममा बाग्लुङ बसपार्क अगाडिको हाईवेमा रोकेर सो समूहले आगजनी गरेका हुन् ।

गाडीमा सवार जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर सुवेदी, नेपाल शिक्षक यूनियन कास्कीका अध्यक्ष जगन्नाथ बास्तोला र चालक शिव पौडेल भने सुरक्षित छन् । चार जनालाई गाडीबाट ओरालेर करीब ६ बजेतिर आगो लगाईएको बास्तोलाले जानकारी दिए ।  ‘जिशिकामा विद्यार्थीले कुर्सी जलाएपछि प्रमुख जिल्ला अधिकारीसँग छलफलका लागि पस्र्याङ हुँदै जाने क्रममा बाग्लुङ बसपार्कमा एक समूहले गाडी रोके ।’ बास्तोलाले भने– ‘हामीलाई झारेर एक्कासी आगो लगाए ।’

10702226_903137956385719_7762652584241201272_n

आगजनी भएको गाडीमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार जिशिअ चढ्दै आएको सेतो टाटा सफारीको सिसाहरु फुटेका छन् भने सिटका केहि भाग जलेका छन् । ‘१० मिनेटपछि नै हामी घटनास्थल पुग्यौं । गाडीमा पूर्ण क्षति पुगेको भन्ने खबर सत्य होईन ।’ थापाले भने ‘चार जना सवार थिए । सबै सकुशल छन् । आगो लागेपछि गाडी थोरै गुडेर नालीमा पुगेको थियो ।’ आगजनी भएको गाडीमा कसले आगो लगाएको भन्ने बिषयमा पुष्टि हुन नसकेको थापाले जनाए । कास्की प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले आगो लगाउनेको पहिचान खुल्न नसकेको र खोजीकार्य भैरहेको जानकारी दिए । आगोलागीको हालसम्म कसैले पनि आधिकारीक जिम्मेवारी भने लिएको छैन ।

यसअघि, दिउँसो ३ः५० बजेको समयमा विद्यार्थी संगठनहरुले जिशिअ आचार्यको कुर्सी आगजनी गरेका थिए । केहि घण्टापछि नै उनको गाडी आगजनी हुनुमा विद्यार्थीकै संलग्नता रहेको आशंका गरिएको छ । अनेरास्ववियू कास्कीका नेता अर्जुन अधिकारीले भने विद्यार्थीहरुले नै गाडी आगजनी गरेको दाबी गरेका छन् । “विद्यार्थीहरुले नै आगजनी गरेको साँचो हो ।” उनले भने– “समस्या समाधानका लागि जिशिअ र सहायक जिशिअ प्रशासनमा छलफलका लागि जाँदै थिए । त्यसैक्रममा आक्रोशित विद्यार्थीहरुले अर्चलबोटमा गाडी रोकेर आगजनी गरेछन् ।” तर यो समाचार तयार पार्दासम्म विद्यार्थी संगठनहरुले भने आधिकारीक रुपमा जिम्मेवारी लिएका छैनन् ।

कास्कीमा अबैधानिक रुपमा सञ्चालित होस्टल र बिद्यालयमाथि कारबाही नगरेको भन्दै बिद्यार्थी संगठनले विहिबार दिउँसो जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको बताएका छन् । नेकपा – माओबादी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा नेपाल बिद्यार्थी संघ, अनेराश्वबियु, अनेराश्वबियु क्रान्तिकारी र अखिल छैटौले संयुक्त रुपमा जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यको कुर्सी जलाएका हुन् । अबैधानिक रुपमा सञ्चालित स्कुल, ईष्टिच्युट एबं होस्टल बन्द गर्न नसकेको र वारम्बार आग्रह गर्दा पनि बिद्यार्थी आन्दोलनलाई अटेर गरेको भन्दै जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएको नेकपा–माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक मणी न्यौपानेले जानकारी दिए ।

यसैबीच, कुर्ची जलाउँदै गरेको अबस्थामा प्रहरीले अनेरास्वबियु क्रान्तिकारीका केन्द्रीय सदस्य नेत्र चापागाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चापागाईलाई जिल्ला प्रहरी कार्यलय, कास्कीमा राखिएको छ । चापागाईको रिहाईको माग गर्दे बिद्यार्थि संगठनहरुले भोलि निजि शैक्षिक सस्था बन्दको घोषणा गरेको बिद्यार्थि नेता  न्यौपानेले जानकारी दिए । अनेरास्ववियूका जिल्ला अध्यक्ष हरिबोल गौतम, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कृष्णराज दाहाल, नेकपा–माओवादीनिकट अखिल क्रान्तिकारीका नेता मिलन राई, अखिल छैटौंका नेता अर्जुन शर्माले  संयुक्त रुपमा हस्ताक्षर गरि विज्ञप्ति निकालेर तत्काल मागको सुनुवाई नभए शुक्रबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने चेतावनी दिइएको छ ।  जिशिअको कुर्सीमा आगजनी गरेपछि, उनीहरुले जिल्ला शिक्षा कार्यालय कास्कीमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।  जिल्ला शिक्षा कार्यालयले अनुगमन गरी कार्वाही प्रक्रिया सुरु नगर्दासम्म तालाबन्दी जारी रहने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा प्याब्सन एनब्याब्सन सहितको सहमतिमा कार्तिक १५ भित्र मापदण्ड बिपरित चलेका बिद्यालय, ईष्टिच्युट तथा होस्टल बन्द गर्ने आश्वासन पाएपनि कार्यान्वयनमा नआएको भन्दै बिद्यार्थीहरु आक्रोसित भएका हुन् ।

बिद्यार्थी संगठनहरुले कास्कीमा अबैधानिक रुपमा सञ्चालित शैक्षिक संस्थाहरु बन्द गर्न एक बर्ष अघिदेखि आग्रह गर्दै आएका छन् । त्यस्ता शैक्षिक संस्था बन्द नभए थप आन्दोलनको घोषणा गर्ने बिद्यार्थी संगठनले चेतावनी दिएका छन् । बिद्यार्थि संगठनहरुले पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चक्काजाम समेत गरेका थिए ।

Photo: Shishir Paudel Facbeook

कमेन्ट गर्नुहोस्
Share: