नेकपा स्थायी समिति बैठक आज सकिँदै, ओली र प्रचण्डले जवाफ दिँदै

Share:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज (शनिबार) सकिने भएको छ। बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रचण्डबीच शुक्रबार बैठकमा उठेका प्रश्नबारे छलफलसमेत भएको थियो। बैठकमा सरकारको काम र पार्टी नेतृत्वको विषयमा स्थायी समिति सदस्यहरूले आलोचनात्मक टिप्पणी गरेकाले त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको थियो।

बैठकमा सदस्यहरुले सरकार तथा पार्टी प्रभावकारी हुन नसकेको, पार्टी एकीकरण प्रक्रियामा ढिलाई भएको, अमेरिकी सहयोग एमसिसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट) र चीनको बिआरआई परियोजना फरक(फरक भएकाले राष्ट्रिय हितको सुनिश्चितता हेरेर मात्र एमसिसी सम्झौतालाई संसद्बाट अनुमोदन गर्नुपर्ने, सीमा अतिक्रमण, सचिवालय समावेशी नभएकोलगायतका विषयहरुमाथि मुख्य रुपमा छलफल भएको थियो।

अध्यक्षद्वयका जवाफअघि महासचिव विष्णु पौडेलले स्थायी समिति बैठकमा आफ्नो धारणा राख्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: