
काठमाडौं । काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ खर्ब लगानी आवश्यक हुने देखिएको छ ।
चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ ।
उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त अध्ययनले काठमाडौं–पोखरा रेलमार्गको काठमाडौं प्रस्थान विन्दु टोखा र पोखराबाट लुम्बिनीका लागि जोडिने प्रस्थान बिन्दु कुरिनटार हुने देखाएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको असोज अन्तिम साता भएको नेपाल भ्रमणमा समयमा दुवै मुलुकबीच सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् ।
त्यसैअनुरूप विस्तृत सम्भाव्यता अध्ययनलाई अघि बढाउन मंसिरको दोस्रो साता चिनियाँ टोली नेपाल आएको थियो । चिनियाँ परामर्शदाताले गरेको पूर्वसम्भाव्यता अध्ययनले काठमाडौं–केरुङ रेलमार्गका निर्माणको प्रारम्भिक लागत रू. २ खर्ब ५७ अर्ब आकलन गरेको छ ।
