
काठमाडौं । नेपालका बैंकहरूले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनमा सहयोग गर्ने भएका छन् । चेकबाहेक बैंकिङ कारोबारमा प्रयोग हुने भौचर, बैंकको वेवसाइट, भिसा कार्ड र बैंकको होर्डिङ बोर्डमा भ्रमण वर्षको लोगो राखिने भएको छ ।
सोमबार पर्यटनमन्त्री योगेश भट्टराई र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच भएको छलफलमा भ्रमण वर्षको लोगो राख्ने निर्णय भएको हो। उनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलाई भ्रमण वर्षमा सक्रिय सहभागी हुन आह्वान गरे । सोहि कार्यक्रममा मन्त्री भट्टराइले काठमाडौं बिमानस्थलले नधान्ने भएकाले निजगढ बिमानस्थल बनाइने बताए । उनले यो बिमानस्थल बन्ने कुरामा ढुक्क हुन सबैमा आग्रह गरे ।
पर्यटन सचिव केदारबहादुर अधिकारीले बैंक तथा वित्तीय संस्थाले शौचालय निर्माण, सरसफाइ जस्ता अभियानमा सहयोग गर्न आग्रह गरे । बैङ्कर्स संघका अध्यक्ष भुवन दाहालले संघमा सल्लाह गरेर भ्रमण वर्षको सहभागिता सम्बन्धमा ठोस कार्यक्रम ल्याउन सकिने बताए । उनले बैंक सामाजिक संजालमा प्रबर्द्धन गर्न तयार भएको पनि बताए ।
मेगा बैङ्ककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले नेपाल भ्रमण वर्षबारे बुकलेट उपलब्ध हुनसके प्रवर्द्धनमा सहयोग गर्न सकिने बताइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिलाई १ जनवरीमा हुने नेपाल भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन आग्रह गरेका छन् ।
