
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) मा चितवन राइनोजले काठमाडौँलाई १ सय ६८ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको हो ।
चितवनका लागि बाबर हायातले सर्वाधिक ७० रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ६ छक्काका साथ ७० रन बनाएका थिए । रोहन मुस्तफालेसमेत अर्धशतक पुरा गरे । ५२ बल खेलेका उनले ६ चौका र १ छक्कासहित ५९ रन बनाउन सफल रहे । मुस्तफा र हायातले १ सय १९ रनको साझेदारी गरेका थिए ।
चितवनका अर्का व्याट्सम्यान आरिफ शेखले १५ रन बनाए । उनलाई अमरसिंह रौटेलाले गौरभ तोमरका हातबाट क्याच आउट गराएका थिए । सन्नि पटेलले १३ रन बनाए । ओपनिङमा आएका करण केसीले केबल १ रन मात्र गराउन सके । ६ बल खेलेका उनी सुसान भारीको बलमा विकेटकिपर जयकिसन कोल्सवालाको हातबाट क्याच हुन पुगे । काठमाडौँका लागि सुसान भारी, बसन्त रेग्मी, अमरसिंह राउटेलाले समान १–१ विकेट लिए । काठमाडौँले जवाफी ब्याटिङ सुरु गरेको छ ।
पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिसकेको छ । पोखरासहित प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
