
बारा । बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। प्रसौनी गाउँपालिका वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको हो।
घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए।
पछिल्लो दुई सातादेखि बढेको अत्याधिक चिसो र शीतलहरका कारण मध्य तराईको पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्याधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
चिसोले तराई मधेसका मुसहर, डोम, चमार लगायतका दलित विपन्न समुदाय बढी प्रभावित हुने गरेको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् ।
