
पोखरा । १४ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ फागुन ३ गते हुने भएको छ । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले प्रतियोगिताको तयारी थालिएको जानकारी दिएको छ ।
वर्षेनी हँदै आएको म्याराथनको पुरस्कार राशि यस वर्ष दोब्बर बनाइएको छ । संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले म्याराथनमा हरेक वर्ष १ लाख प्रदान गरिँदै आएकोमा यस वर्ष बढाएर २ लाख बनाइएको जानकारी दिए ।
यस्तै प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १ लाख, ७५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ । दक्षिण एशियाली मुलुकबाट व्यवसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको गुरुङले बताए ।
दौड प्रतियोगिताले पर्यटनको राजधानी पोखरामा खेल पर्यटनको प्रवर्द्धन तथा नेपाल भ्रमण वर्ष २०२० सघाउने आयोजकको विश्वास छ । प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५, १० र ५ हजार प्रदान गरिनेछ ।
यस्तै पाँच किमी छात्ररछात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार दिइनेछ । ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई ५, ३ र २ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
दौडमा सहभागी हुन फागुन १ गेतसम्म आफ्नो नाम दर्ता गराउनु पर्नेछ । आयोजकले दौडमा ७ हजार जनालाई सहभागी गराउने लक्ष्य राखेको छ । प्रतियोगितालाई लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले १० औं संस्करणदेखि प्रायोजन गर्दै आएको छ ।
