

पोखरा । पोखराको रञ्जित गाउँमा माघे सङ्क्रान्ति मेला हुने भएकाे छ । आउँदो माघ १ गतेदेखि ३ गतेसम्म पोखरा महानगरपालिका–१६ को सो गाउँमा सङ्क्रान्ति मेला हुने भएकाे हो ।
आयोजक नौ धारे सिद्ध बराह युवा क्लबले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर तीन दिने मेलाको तयारी तीव्र पारिएको जनाएको छ । माघे सङ्क्रान्तिको दिन गएको ६२ बर्षदेखि निरन्तर आयोजना गरिँदै आएको अध्यक्ष शम्सेर बहादुर गुरुङले जानकारी दिए ।
वस्ती विकास गर्न र पर्यटन प्रवर्धन गर्नका लागि मेला आयोजना गरिएको हो । वि.सं २०१३ सालबाट त्यहाँ मेला शुरु भएको थियो । स्थानीयबासी बीच छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको मेलामा अहिले अन्य खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको गुरुङले बताए ।
आउँदो ३ वर्षमा मेलालाई बृहत महोत्सवको रूप दिने योजना रहेको उनले सुनाए । मेलामा भलिबल प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, रसी तान्ने प्रतियोगिता हुने आयोजकले जनाएको छ । यसबाहेक साँस्कृतिक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।
भलिबल प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमशः ३५ हजार, २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै छेलो हान्ने र रसी तान्ने प्रतियोगितामा विजयी हुनेले ५ हजार पाउने छन् ।


