
काठमाडौं– बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रसाईंविरुद्ध प्रहरी अभद्र व्यवहारको कसुरमा पक्राउ पुर्जी जारी गरि अनुसन्धान अगाडि बढाएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको हो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको निवेदनका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले प्रसाईंविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको हो ।
प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए । पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए ।
गिरीले प्रसाईंविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए । गिरीको सोही निवेदनका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् ।


