पोखरामा आजबाट विद्यालय नाटक महोत्सव सुरु

Share:

पोखरा । पोखरामा माघ ६ गते सोमबारबाट महानगरस्तरिय विद्यालय नाटक महोत्सव सुरु हुँदैछ । माघ १४ गतेसम्म चल्ने ९ दिने नाटक महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्ने आयोजक पोखरा थिएटरले जनाएको छ । उद्घाटन अगाडि बिहान ११ बजे साँस्कृतिक झाँकी, बाजागाजा सहित प्रस्तुत गरिनेछ । ¥याली पोखरा थिएटरबाट सुरु भई पालिखेचोक, महेन्देपुल, चिप्लेढुंगा, सिर्दाथचोक, नालामुख हुँदै पुनः पोखरा थिएटरमा पुग्नेछ ।

उद्घाटन लगत्तै पोखरा थिएटरकै प्रस्तुतीको नाटक ‘कोहि किन बरबाद होस्’ दिउँसो १ बजे मञ्चन गन्धर्व नाटक घरमा गरिने महोत्सव निर्देशक परिवर्तनले बताए । विभिन्न विद्यालयमा अध्ययनरत तथा पोखरा थिएटरमा अभिनय सिकिरहेका विद्यार्थीहरुको यो नाटकमा अभिनय रहनेछ ।

विजय मल्लले लेखेको यो नाटक परिवर्तनको निर्देशनमा तयार हुँदैछ । यो मनोवैज्ञानिक नाटक हो । नाटकमा विद्यार्थी, शिक्षक र अभिभावक मुख्य पात्र हुन् । नाटकमा प्रथम श्रेष्ठ, एभोन केसी, उत्सर्ग सुवेदी, तिर्सना थापामगर, मिलन श्रेष्ठ, संगम लामिछाने, सुर्य कुँइकेल, मानसी पनेरु, दृष्टि भुजेल, निरजरा पुन, रिजन केसी र आवा पौडेलको अभिनय रहनेछ ।

नाटकका निर्देशक परिवर्तन हुन् । उनले सन्देशमुलक नाटक झण्डै एक घण्टा अवधिको हुने बताए । यसअगाडी विभिन्न नाटकमा काम गरिसकेका तथा लामो समयदेखि विद्यार्थीलाई सहजीकरण गरिरहेका परिवर्तनले यो नाटकले नयाँ पुस्ताको आर्कषण नाटकमा थपिने जनाए । ‘समसामयिक विषयको नाटक भएकोले यसलाई प्रर्दशन गर्न लागिएको हो’ परिवर्तनले भने ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ गर्न लागेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । महोत्सवमा कुल नौ वटा नाटक मञ्चन हुनेछ । माघ ७ गतेबाट भने विहान साढे ११ बजे र दिउँसो २ बजे गरी दैनिक दूई सो नाटक मञ्चन हुनेछ । पोखरा थिएटरले यसअगाडी पनि विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवहरु सफलताका साथ आयोजना गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: