
पोखरा । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशको दुवै सिट नेकपाले हात पारेको छ । बिहिबार सम्पन्न मतगणनाअनुसार अन्य कोटाबाट नारायणकाजी श्रेष्ठ र महिला कोटाबाट भगवती न्यौपाने विजयी भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले बिगखबरलाई जानकारी दिए ।
नेकपाका श्रेष्ठले काङ्ग्रेसका सूर्यप्रसाद रेग्मीलाई १ हजार २१८ मतभारले पराजित गरेका हुन् । श्रेष्ठले ३ हजार ४६२ मतभार ल्याउँदा काङ्ग्रेसका रेग्मीले २ हजार २४० मतभार ल्याएका हुन् । यस्तै महिलातर्फ न्यौपानेले काङ्ग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३ हजार ३६६ मतभार ल्याइन् भने गौचनले २ हजार ३४० मतभार ल्याइन् ।
राष्ट्रियसभा सदस्य चयन गर्न भएको मतदानअन्तर्गत गण्डकी प्रदेशमा २ सय २८ जनाले मतदान गरेका थिए । २ सय ३० मतदाता रहेकोमा २ जनाले मतदान नगरेको प्रमुख सुवेदीले बताए । मतदान सकेलगत्तै शुरू भएको मतगणना एक घण्टामा सकिएको थियो ।
राष्ट्रियसभा निर्वाचनमा पालिका र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने व्यवस्थाअनुसार बिहिबार मतदान भएको थियो । गण्डकी प्रदेशमा एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह छन् । गण्डकी प्रदेशमा स्थानीय तहका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्ष गरी १ सय ७० जना छन् । प्रदेश सभामा समानुपातिकसहित कूल ६० सदस्य छन् । यसरी यहाँ सबै गरेर २ सय ३० जना हुन्छन् ।
पहिल्यै पक्का थियो नेकपाको जित
बिहिबार मतगणनाको नतिजा आएपनि गण्डकी प्रदेशमा सत्तारूढ नेकपाको जित पक्का थियो । मतदाता मध्ये आधाभन्दा बढी नेकपाका तर्फबाट जितेका प्रतिनिधि थिए । गण्डकी प्रदेश सभामा सत्तारूढ नेकपाका ४० जना सदस्य छन् । यस्तै प्रदेशका स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता थिए । काँग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ जना मतदाता थिए ।
एक जना उम्मेदवार उठाएको राष्ट्रिय जनमोर्चाको प्रदेशसभा र स्थानीय तहमा ३/३ गरी ६ जना मतदाता थिए । यस्तै प्रदेश सभामा समाजवादी पार्टीका दुई जना, स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई मतदाता थिए । निर्वाचनमा ३ दलका ५ जना उम्मेदवार थिए ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने, काङ्ग्रेसबाट सूर्यप्रसाद रेग्मी र विमला गौचन राजमोबाट शंकर बराल उम्मेदवार थिए । गण्डकी प्रदेशमा अन्य र महिला सदस्य गरी २ पद खाली हुँदैछ । गण्डकीबाट राष्ट्रियसभामा अन्य कोटाका सुरेन्द्रराज पाण्डे र महिला कोटाकी बिन्दादेवी आले (राना) को कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ ।
या पनि :
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २ सय २८ जनाले मतदान गरे, मतगणना शुरू
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा ३ दलका ५ जनाको उम्मेदवारी
राष्ट्रियसभाको निर्वाचन माघ ९ गते


